| मङ्लबार, कार्तिक २४, २०८३

असीम पीडामा पौवाखेत गाउँ

शिव उप्रेती :

पाँच जनाको शव गोरखा अस्पतालको शवगृहमा पोस्टमार्टम हुदै थियो । मृतकका छरछिमेक शवगृहबाहिर भरिभराउ थिए । सबैको चेहरा जमिनमुखी थियो । केही प्रौढ महिलाहरु मृतकको घर गोरखा नगरपालिका ७ पौवाखेतमा भेला भएका थिए । उनीहरु मृतक ३९ बर्षका शंकर रोकाकी श्रीमती बबिता रोकाको वरिपरि बसिरहेका थिए । कोही कसैसंग बोल्ने अबस्थामा थिएनन् । हेर्दा १५, १६ जना महिलाहरु त्यहाँ देखिन्थे, तर कोही कसैसंग नबोल्दा सन्नाटा छाएको थियो ।

कसैको नजर कसैसंग जुधिरहेको थिएन । मौनतामा कोही जमिनतिर, कोही आकासतिर, कोही बेपर्बाह यताउति नजर डुलाइरहेका देखिन्थे । बिहान पाँच बजे काठमाडौँबाट ट्याक्सीमा गोरखा आइरहेका एकै परिबारका छ जना त्रिशुलीमा खसेको खबर सुनेदेखि झर्न थालेको आँशु दिनभर बगेर सकिएझै देखिन्थ्यो । परिबारको पाँचै जनाको मृत्यूपछि जीवित सदस्य शंकरकै समउमेरकी बबिता मात्र थिइन् । उनको साथ र सहयोगमा बसेका सबैको आँशु सुकेर थाकेका मुहार उदास थियो, ओठ कलेटी परेको । कपाल रातो मजेत्रोले बेरे पनि पहिरनमा कसैको ध्यान थिएन ।

ट्याक्सी दुर्घटनामा एकै परिबारका पाँच जनाको मृत्यू र एकजना बेपत्ता भएपछि पौवाखेत असीम पीडाको दहमा डुबुल्की मारेको छ । एकबर्षदेखि क्यान्सरबाट ग्रसित भएका गोरखा नगरपालिका ७ पौवाखेतका ३९ बर्षका शंकर रोकाको शुक्रबार साँझ काठमाडौँको अस्पतालमा मृत्यू भयो । आर्यघाटमा दाहसंस्कार गर्न उनका छरछिमेक माइक्रो रिजर्भ गरेर शुक्रबार साँझतिरै काठमाडौँका लागि हिँडे । दाहसंस्कार गरेर फर्कने क्रममा बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा त्यसमा सवार मृतकका एकाघरका पाँचजनाको घटनास्थलमै मृत्यू भएको थियो भने एकजना अझै बेपत्ता छन् ।

मृतक शंकरकी आमा ७० बर्षकी जुनकिरी रोका, उनकी छोरी गोरखा नगरपालिका ४ की हरिमाया रोका(उपरकोटी), नाति आठबर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका ७ बतासेका अर्जुन सिर्मलको घटनास्थलमै मृत्यू भएको हो ।

बुबा शंकरलाई दागबत्ती दिएर फर्केका छोरा १८ बर्षका विवश रोका बेपत्ता भइरहेका आफन्त विष्णु मग्रातीले जानकारी दिए ।
शंकरका बुबा दिलबहादुर रोकाको यसअघि नै मृत्यू भइसकेकाले अब सो परिबारमा बबिता मात्र बाँकी रहेकी उनले बताए ।

प्रतिक्रिया दिनुहोस्