| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका धेरै भू–भागमा सूर्यको किरण पुग्न सकेको छैन : गोकर्ण विष्ट

नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गोरखाको धेरै भूभागमा सूर्यको किरण पुग्न नसकेको बताएका छन् । विष्टले घुमाउरो ढङगबाट गोरखामा एमाले निष्क्रिय बनेको आरोप पनि लगाएका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी गोरखाको ८ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सपथ ग्रहण तथा प्रथम जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै विष्टले सो कुरा बताएका हुन् । बिहिबार सम्पन्न सपथ ग्रहण कार्यक्रम तथा प्रथम जिल्ला कमिटी बैठकमा विष्टले प्रतिस्पर्धामा सबैजना रुचिका साथ भाग लिने तर परिणाम आफ्नो पक्षमा नआए पार्टी नै परित्याग गरेर हिँड्ने प्रवृत्ति बढेको बताएका छन् ।

उनले नेपाली जनताहरु लोकतन्त्रको बाटोमा नहिँडेको आरोप लगाएका छन् । सरकारले आर्थिक वर्षको अन्त्य हुन साँढे तीन महिना बाँकी हुँदा अहिलेसम्म पुँजीगत खर्चको ३० प्रतिशत भन्दा कम खर्च गरेको उनले बताएका छन् । विष्टले एमाले एकजुट भए मात्र देश बिकास सम्भव रहेको बताए । कार्यक्रममा उनले वर्तमान निर्वाचन प्रणालीले राजनीतिमा ‘डन’ प्रवृत्ति मौलाएको बताएका हुन् । उनले अहिलेको अवस्थामा एउटै पार्टीले मात्र बहुमत ल्याउने परिवेश नरहेको बताउँदै एमालेले निर्वाचन हार्दैमा पछि नहट्ने बताएका छन् ।

‘धेरै भोट ल्याएर, चुनाव जितेर मात्र जनताको जीवन बद्लिँदैन’, उनले भने, ‘अब नेकपा एमालेले राजनीतिको अगुवाई गर्छ ।’ यस्तै, एमालेको आठौँ गोरखा जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष सुरेन्द्रबहादुर थापाले २०८४ का लागि पूर्वाधार विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थापाले सपथ ग्रहण गर्दै आफ्नो ३ वर्षे कार्यकालमा सबै नवनिर्वाचित पदाधिकारीहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले पार्टीका कमी कमजोरीहरु हटाएर सबैको सामुहिक प्रयासले पार्टीलाई बिकासतर्फ लैजाने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आउँदो वैशाखभित्र जिल्लाका ११ वटै पालिकास्तरीय पार्टी कमिटीको अधिवेशन गर्ने र जेठभित्र ९४ वटै वडास्तरको कमिटीको अधिवेशन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

८ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले गोरखालाई अघि बढाउन विभिन्न समयमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरु एवं आठौँ अधिवेशन सफल पर्न योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्