
उहियामा सामुहिक मार्सी धान खेती गर्दै महिलाहरु
धेरै महंगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको खेती गोरखाको उच्च पहाडी गाउँपालिका धार्चेमा पनि गर्न सुरु गरिएको छ । धार्चे गाउँपालिका वडा नं ३ उहियाका महिलाहरुले मार्सी धानको खेती सुरु गरेका हुन् । २० रोपनी जमिनमा गत आइतबार सामुहिक रुपमा मार्सी धान लगाइएको पूर्व वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए । २१ जना महिलाहरु मिलेर सामुहिक रुपमा मार्सी धानको खेती गरेका उनले बताए ।
गाउँघरमा उत्पादन हुने कृषि उपज बाँदरले खाएर हैरान पारेपछि उनीहरुले सामुहिक रुपमा मार्सी धान लगाएका गुरुङले बताए । ‘गाउँघरमा बाँदर आतंकले कुनै पनि खेतीबाली भित्र्याउन सकिएन’, पूर्व वडाअध्यक्ष गुरुङले भने, ‘सामुहिक खेती गरियो भने आलोपालो गरेर बाली कुर्दा पनि धेरै सास्ती हुदैन भनेर महिलाहरु एकजुट भएर मार्सी धान खेती गरेका हुन् ।’ २१ जना मिलेर खेती गरेपछि बाली कुर्नुपर्दा पनि २१ दिनमा पालो आउने हुँदा धेरै कठिनाइ नपर्ने उनले बताए ।
‘एक्लाएक्लै खेती गर्दा हरेक दिन कुर्नुप¥यो । सामुहिक रुपमा खेती गरियो भने आफ्नो पालोमा मात्र कुरे पनि पाइने भयो’, उनले भने, ‘जति धेरै जना मिलेर कु¥यो, त्यति धेरै समयमा पालो आउँदा अल्लि सहज हुन्छ भनेर सामुहिक खेती गरेको हो ।’ स्थानीय विधानी घले र पासमाया गुरुङको अगुवाइमा सामुहिक मार्सीधान खेती गरिएको हो । उनीहरुले प्रतिव्यक्ति रु तीन हजार उठाएर धान खेती गर्न सुरु गरेको धार्चे ३ का पूर्व वडाअध्यक्ष गुरुङले जानकारी दिए । महिलाहरुले यो वर्ष करिब २२ पाथी मार्सी धानको बिउ किनेर २० रोपनी जग्गामा सामुहिक रुपमा धान खेती गर्न लागेको उनले बताए ।
बिगत बर्षहरुमा पनि यहाँ मार्सी धान खेती गरिन्थ्यो, तर त्यसको उपयोग घरायसी रुपमा मात्र गरिन्थ्यो । यसपटक भने व्यवसायिक उत्पादनका लागि सामुहिक रुपमा खेती गरिएको स्थानीयको भनाइ छ । ‘यहाँको रैथाने बालीहरु कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो’, गुरुङले भने, ‘यहाँ उत्पादन हुने रैथाने बालीहरु मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा बिकृति फैलाउने भएकाले पनि महिलाहरुले मार्सी धान उत्पादनलाई प्रथामिकतामा राखेको हुन् ।’ गाउँमा मार्सी धान उत्पादन हुन थालेपछि चामाल आयात समेत निरुत्साहित हुने स्थानीयबासीको भनाइ छ ।
उहियामा उत्पादन हुँदै आएका कोदो, गहुँ, मकै बालीबाट अधिकांश मदिरा उत्पादनमा प्रयोग हुँदै आएको छ । कोदो, मकै, गहुँ आदिको विकल्पमा मार्सी धान आएपछि मदिरा उत्पादन् घट्ने स्थानीय प्रमिना घलेले बताइन् । ‘कोदो, मकै, गहुँहरु बढि मदिरा उत्पादनमा प्रयोग हुन्थ्यो, जसले गर्दा गाउँमा झैँझगडा भइरहन्थ्यो’, उनले भनिन्, ‘अब रैथाने बालीको बिकल्पमा मार्सी धान आएपछि मदिरा उत्पादन कम हुन्छ जसका कारण बिकृति पनि कम हुन्छ भन्ने अपेक्षा राखेका छौँ ।’
मार्सी धान पाक्न पनि कम समय लाग्ने र यसको उत्पादनले महिलाहरुको आर्थिक स्थिति समेत उकासिने उनले बताइन् । उनी भन्छिन्, ‘उहियामा स्थानीय उत्पादन बजारसम्म पु¥याउन ढुवानीको समस्या छ । धान छिटै नबिग्रिने भएकाले पनि यसलाई बजारसम्म लैजान समस्या पनि भएन त्यसैले धान नै लगाएका हौँ ।’ मार्सी धान प्रतिपाथीको रु ५०० का दरले बिक्री हुने घलेको भनाइ छ ।
गाउँमा मार्सी धान उत्पादन हुन थालेपनि कुटानी पिसानी भने पुरानै तरिकाले गर्दै आएको स्थानीयहरुको गुनासो छ । गाउँलेहरुले अझैँ पनि ढिकी, जाँतोमा धान कुटानी पिसानी गर्दै आएका छन् । कुटानी पिसानीका लागि उहियाबासीले आधुनिक मिल समेत माग गरेका छन् ।




