
आठ हजार रुपैयाँ क्षतिपूर्ति पाएपछि टुङ्गियो दिनभरको यातायातको लफडा
बस चालकले आठ हजार रुपैयाँ र मोबाइल क्षतिपूर्ति पाउने भएपछि गोरखामा बुधबार दिनभर भएको यातायातको लफडा टुङ्गिएको छ । जिल्ला प्रहरी कार्यालयमा भएको सहमतिपछि यातायात मजदुरहरुले दिनभर बन्द गरेको यातायात पनि साँझ पाँचबजेपछि खुलेको छ ।
बस चालकमाथि भएको कुटपिटको विरोधमा अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दिनभर यातायात सेवा ठप्प पारेका थिए । आठ हजार रुपैयाँ नगद र किप्याड (सादा) मोबाइलको क्षतिपूर्ति कार पक्षबाट पाउने भएपछि दिनभर गरिएको यातायात बन्द साँझ पाँचबजेपछि खुलाउन यातायात मजदुरहरु सहमत भएका थिए । दिनभर भएको द्विपक्षीय वार्तामा बसका चालक पक्षले बोली बचन सुधार्ने र कार पक्षले हातपात गरेकोमा गल्ती महशुस गर्ने प्रतिवद्धता जनाएका थिए ।
गत चैत ११ गते बारकिलो बजारमा ग १ ख ७१९१ नंबरको बस र बा २० च ५८५८ नंबरको कार आपसमा ठक्कर खाएपछि उत्पन्न विवादका कारण यातायात मजदुरले बुधबार गोरखामा दिनभर यातायात बन्द गरेका थिए । मंगलबार जारी विज्ञप्तिमा सार्वजनिक यातायात मात्र बन्द रहने सूचना गरिएको थियो । तर बन्दकर्ता हरमटारी चोकमा उत्रिएर निजी तथा सार्वजनिक सम्पूर्ण सवारी ठप्प पारेका थिए ।
सामान्य विवाद समयमै समाधान नहुँदा बुधबार बन्दको मार निर्दोष यात्रुले खेप्न बाध्य भएका थिए । बसका चालक अर्जुन परियारमाथि कार पक्षका हरि श्रेष्ठलगायतले कुटपिट गरेको भन्दै पिडित पक्षले १२ गते प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएको जनाएको छ । तर विवाद समाधानका लागि प्रहरीले समयमै पहल नगरेका कारण यातायात बन्द आयोजना गरेको यातायात मजदुर संघ संगठनले आरोप लगाएका छन् ।




