| मङ्लबार, कार्तिक २४, २०८३

नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने दुई जेसिभी र तीन टिपर प्रहरी नियन्त्रणमा

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गरेको भन्दै प्रहरीले दुई वटा जेसिभी र तीन वटा टिपर नियन्त्रणमा लिएको छ । मंगलवार बिहान गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उत्खननमा प्रयोग भएको बा २ क ८२४७ र ‘अनटेष्ट’ लेखिएको जेसिभी र ओसार प्रसारमा प्रयोग भएको ग १ ख ८२२५, ग १ क ३२९० र बा ५ ख २७८७ नम्वरको टिप्पर नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

‘उत्खनन गरिरहेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएका हौ,’ उनले भने, ‘आवश्यक कारवाहीका लागी नगरपालिकालाई पत्राचार गरेका छौ ।’ नियन्त्रणमा लिइएको जेसिभी र टिप्पर भने बाह्र किलो प्रहरी चौकी र अस्थायी प्रहरी पोष्ट छेवेटारमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्