
यातायात मजदुर कुटिएको बिरोधमा गोरखामा सार्वजनिक यातायात बन्द, यात्रुहरु सडकमै अलपत्र
यातायात मजदुर कुटिएको बिरोधमा गोरखामा सार्वजनिक यातायात बन्द गरिएको छ । कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्लाका यातायात मजदुरहरुले बुधवार बिहानदेखि यातायात बन्द गरेका हुन् । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायात चलेका छैनन् ।

गत आइतवार होलिको दिन ग १ ख ७१९१ नम्वरको यात्रुवहाक बस चालक अर्जुन परियार र सहचालक टिकाराम नेपालीमाथि कुटपिट भएको उनीहरुले बताएका छन् । गोरखा नगरपालिका–७ धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहित अन्य केही व्यक्ति मिलेर यातायात मजदुर माथि कुटपिट भएको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए ।

‘उनीहरु चढेर आएको बा २० च ५८५८ नम्वरको कार र बस एक आपसमा ठोकिएछ,’ उनले भने, ‘अरु व्यक्ति पनि बोलाएर श्रेष्ठहरुले बसको चालक र सहचालकमाथि हातपात गरेछन् ।’ हातपात गर्ने माथि कारवाहीको माग गरेपनि प्रहरीले वेवास्ता गरेको उनले बताए ।
‘मजदुरमाथि कुटपिट गर्नेलाई कारवाही गर्न भनेर अस्ति प्रहरीकोमा जायरी पनि दिएका थियौ, तर दर्ता गर्न मानेनन् । बिरोध स्वरुप आज मजदुरहरुले गाडी घर वा ग्यारेजमा थन्क्याउने भनेका राखेका हौ,’ उनले भने ।

बन्द गर्दै हिड्ने नभएको बताएपनि चोकचोकमा बसेर यातायात मजदुरहरुले गाडी बन्द गराएका छन् । दोषी उपर कारवाहीको माग गर्दै मंगलवार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको जिल्ला कार्यसमितिले संयुक्त रुपमा प्रशासन र प्रहरी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए ।
बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् ।
पोखरा जान भन्दै परिवारसहित बिहान ५ बजे हरमटारीचोकमा आइपुगेका बारपाक सुलिकोट गाउँपालिका–३ का मिलन गुरुङले गाडी बन्द हुदाँ समस्या भएको बताए । ‘बाबु नानीहरु पनि सँगै छन्, टाढा जानुपर्ने, यसरी गाडी बन्द गर्दा हामीहरुलाई निकै समस्या भयो,’ उनले भने । आफ्नो माग पुरा गर्न गाडी बन्द गरेर सर्वसाधारणलाई दुख दिनु गलत भएको उनको भनाइ छ ।

उपचारका लागी चितवन जान लागेकी वालुवाकी सुकमाया मग्राती पनि बिहानैदेखि सडकमा अलपत्र परेकी छन् । ‘बाह्र बजेसम्म अस्पताल पुग्नुपर्ने तर गाडी बन्द गरेर जानै पाको छैन,’ उनले भनिन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषयमा प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । ‘समस्या समाधानका लागी छलफल भइरहेको छ, भएन भने कानूनी प्रक्रिया अनुसार अघि बढ्छौ,’ उनले भने ।




