
गोरखा नगरपालिकाबाट चितुवा र रतुवा मृगको उद्धार
गोरखा नगरपालिका–५ तल्लो स्वाँरामा स्थानीयको घरमा पसेको चितुवाको उद्धार गरिएको छ । करिव तीन महिनाको उक्त चितुवाको शनिवार उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । ‘घरभित्र पसेपछि स्थानीयले खवर गर्नुभयो,’ कार्यालयका सूचना अधिकारी महेश पौडेलले भने, ‘हाम्रो टोली गएर उद्धार गरेर ल्यायो ।
’ कार्यालय परिसरमा राखिएको उक्त चितुवालाई केही समयपछि उचित वासस्थानमा छाडिने उनले जानकारी दिए । त्यस्तै कार्यालयले गोरखा नगरपालिका–१२ दश किलोबाट रतुवा मृगको पनि उद्धार गरेको छ । चैत्र ३ गते उद्धार गरिएको उक्त मृग हाल कार्यालय परिसरमै रहेको पौडेलले बताए ।
‘करिव पाँच महिनाको बच्चा रहेछ,’ उनले भने, ‘जंगलमा डढेलो लागेपछि आमासँग छुटिएर वस्ती क्षेत्रमा आएछ । हामीलाई खवर भयो अनि उद्धार गरेर ल्यायौ,’ उनले भने । अहिले कार्यालयमै राखेर पालनपोषण गरिएको र चर्न सक्ने भएपछि उचित वासस्थानमा छाडिने उनले जानकारी दिए ।




