
२४ घण्टापछि नियन्त्रणमा आयो सल्लेरी जंगलको आगो
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीको जंगलमा भएको आगलागी २४ घण्टापछि नियन्त्रणमा आएको छ । सुरक्षा निकायको पहलमा आगलागी नियन्त्रण गरिएको हो । मंगलवार साँझबाट वन क्षेत्रमा आगजनी भएको स्थानीय गणेश कार्कीले बताए । ‘पहिले अलि अलि आगो देखिएको थियो,’ उनले भने, ‘पछि जंगल भर फैलियो ।’
वुधवार राती करिव १२ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । आगलागीका कारण वन क्षेत्र विनाश भएको भन्दै उनले थपे, ‘त्यहाँ रुखहरु पनि रोपेका थियौ, आगलागीले जंगल नै सखाप बनाइदियो ।’ कसले आगो लगायो भन्ने बारे भने एकीन नभएको बताइएको छ ।




