| मङ्लबार, कार्तिक २४, २०८३

क्वार्ज क्रिष्टल चैत्र १७ गते गोरखा दरवारमा राख्ने तयारी

जिल्ला प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल यही चैत्र १७ गते गोरखा दरवारमा राख्ने तयारी गरिएको छ । आवश्यक तयारी लगभग पूरा भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘क्वार्ज क्रिष्टल राख्ने सिसाको बाकस निर्माण भइसक्यो, टेवल पनि बनिसक्यो,’ उनले भने, ‘सिसि क्यामेरा पनि जडान भइसक्यो ।’ गोरखा दरवारभित्र पृथ्वी नारायण शाहको गद्दी भएको कोठामा क्वार्ज क्रिष्टल राखिने उनले जानकारी दिए । ‘त्यही गद्दी नजिकै टेवल हुन्छ । टेवलमाथि क्वार्ज क्रिष्टल भएको बक्स राखेर बिशेष लाइटिङको व्यवस्था गर्छाै,’ उनले भने ।

सो क्षेत्रमा राखिएको क्वार्ज क्रिष्टल बाहिर झ्यालबाट पनि देख्न सकिने उनले बताए । भित्र गएर पनि हेर्न पाउने व्यवस्था गरिने उनले जानकारी दिए । यही चैत्र १७ गते राख्ने तयारी भएको मेयर रानाले पनि जानकारी गराए । पुनः एक पटक छलफल गरेर निर्णय गर्ने उनले बताए । दरवारमा क्वार्ज क्रिष्टल राख्नका लागी सुरक्षाको दृष्टिकोणले सबै तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । ‘यही चैत्र १७ गते राख्ने भन्ने छ, हाम्रो तर्फबाट सबै तयारी पूरा भइसक्यो, कुनै समस्या छैन,’ उनले भने ।

गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले उक्त क्वार्ज क्रिष्टल बरामद गरेको होे । महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि घरबाटै बरामद गरेर ल्याएको प्रहरीले बताउँदै आएको छ । खानी तथा भूगर्भ बिभागबाट आएका भूगर्भविदहरुले परीक्षण गरी उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर रहेको बताएका थिए । करिव ५४ केजी तौलको उक्त ढुंगा नेपालमा बिरलै पाइने जानकारी गराउँदै उक्त ढुंगा विभागमा पठाउन समेत उनीहरुले आग्रह गरेका थिए । तर जिल्लाका सरोकारवालाहरुले उक्त ढुंगा गोरखामै राख्नुपर्ने माग राख्दै प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई ज्ञापन पत्र समेत बुझाउँदै आएका थिए ।

गत फागुन ४ गते मन्त्रीपरिषदको बैठकले उक्त क्वार्ज क्रिष्टल गोरखामै राख्ने निर्णय ग¥यो । तर संग्रहालय राख्ने वा गोरखा दरवार भन्ने बिषयमा अन्योल थियो । फागुन ५ गते जिल्लाको सर्वपक्षिय बैठकले गोरखा दरवारमा राख्ने निर्णय ग¥यो । धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरिएको हो । सोही दिनदेखि स्थानीय तहको व्यवस्थापनमा क्वार्ज क्रिष्टल राख्ने तयारी थालिएको थियो । उक्त क्वार्ज क्रिष्टल राखेसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । बरामद भएदेखि नै उक्त क्वार्ज क्रिष्टल जिल्ला प्रहरी कार्यालयमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्