
आफ्नै निवासमा आगजनीको हल्ला फैलाउने गोरखाका अधिकारी पक्राउ
आफ्नो निवासमा आफैले आगजनी गरी आगजनी भएको हल्ला फैलाएको भन्दै मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–१ स्थायी घर भएका उनलाई आगजनीमा संलग्न रहेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत फागुन २४ गते राति आफ्नो निवासमा आगजनी र ढुंगामुढा भएको भन्दै अधिकारीले २५ फागुनमा इलाका प्रहरी कार्यालय लटिनाथमा निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनी आफैँले आगजनी गरेको प्रमाण फेला परेपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।
अधिकारीबिरुद्ध आपराधिक उपद्र गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
आगजनीको घटनालगत्तै निजामती कर्मचारी संगठन र कतिपय सरोकारवालाले तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका थिए । कर्मचारी संगठनका जिल्लास्तरीय समितिका साथै केन्द्रीय समितिले समेत घटनाबारे चासो देखाएको थियो । सुदूरपश्चिमका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाउँपालिका केन्द्र लटिनाथ पुगेर घटनास्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
अनुसन्धानले घटनामा प्रशासकीय अधिकृत आफैँ संग्लन रहेको देखिएको प्रहरीले जनाएको छ । गोरखा घर भई हाल काठमाण्डौको नागार्जुन नगरपालिका–१ रानीवनमा बसोवास गर्दै आएका अधिकारी ०८० भदौदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । २७ वर्षीय अधिकारीले घटना आफैँले किने गरे भन्नेबारे प्रहरीले खुलाएको छैन । आगजनीको सन्दर्भमा स्थानीय तहकै जनप्रतिनिधिले समेत अधिकारीविरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।




