| मङ्लबार, कार्तिक २४, २०८३

चुमनुव्रीमा फोन सेवा अवरुद्ध, स्थानीय चिन्तित

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा मोबाइल सेवा अवरुद्ध भएको छ । सोमवारबाट सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । ‘हिजो साँझ चार बजेतिरबाट फोनमा टावर छैन’, चुमनुब्री ३ फिलिमका सुजन गुरुङले भने, ‘कहाँ बिग्रियो त्यो पनि थाहा भएन । कहिले बन्छ पनि थाहा छैन ।’

टावर नआएका कारण संचार संपर्कबाट बञ्चित हुनुपरेको उनले गुनासो गरे । ‘आफन्तहरुको हालखवर सोध्न पनि पाइएको छैन । कथंकदाचित राती कसैलाई केही भइहाल्यो भने सम्पर्क गर्न फोन लाग्दैन । समस्या हुँदोरहेछ,’ उनले भने । फोन सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन नै प्रभावित बनेको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । सेवा सुचारुका लागि सम्बन्धित निकायमा पहल गरिरहेको उनले जानकारी दिए । धार्चे गाउँपालिका–२ केरौजामा रहेको टावरमा समस्या आएका कारण चुमनुब्री नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ ।

‘विगत केही दिनदेखि टावरमा समस्या देखिएको रहेछ,’ कार्यालय प्रमुख सरोज अर्यालले भने, ‘हामीलाई भने हिजो सेवा ठप्प भएपछि मात्र खवर आयो ।’ मर्मतका लागि पोखराबाट प्राविधिक टोली बोलाइएको र आज सो स्थानमा पुगेर मर्मतको काम सुरु हुने उनले जानकारी दिए । केरौँजाको टावरबाट अन्य ६÷७ ठाउँमा लाइन विस्तार गरिएकाले उक्त टावरमा समस्या देखिदाँ धेरै सेवाग्राहीहरु मर्कामा परेको कार्यालयले जनाएको छ । भौगोलिक बिकटताका कारण पनि समयमै मर्मतको काम हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्