| मङ्लबार, कार्तिक २४, २०८३

जातीय विभेद जरैदेखि नष्ट गर्न सामुहिक पहलको खाँचो

सदियौँदेखि जरा गाढेर रहेको जातीय भेदभाव नष्ट गर्न सामुहिक पहलको खाँचो रहेको भीमसेन थापा ५ बगुवाका बासिन्दाले माग गरेका छन् । सोमबार बगुवामा आयोजित दलित, गैरदलित बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले जातीय विभेदको जरो उखेल्न दलित र गैरदलित दुवैको सामुहिक पहलको खाँचो रहेको तर्क गरेका हुन् ।

विद्यालय स्तरदेखि नै विभेद अन्त्यको अभ्यास गर्नुपर्ने नेपाल शिक्षक महासंघ गाउँपालिका स्तरीय समितिका अध्यक्ष भूमि गोतामेले बताए । ‘कक्षामा बस्दा पनि दलित समुदायबाट आएका विद्यार्थी पछाडि बेञ्चमा बस्ने गर्छन, गैरदलित समुदायका विद्यार्थी अगाडि बस्ने गर्छन् । दलित, गैरदलित कक्षामा संगसंगै बसेर पढ्ने वातावरण बनाउनु पर्छ’, उनले भने, ‘दलित समुदायको पनि शिक्षामा पहुँच पु¥याउनु पर्छ । शिक्षामा पहुँच पुगे मात्रै समाजमा सम्मान मिल्छ ।’ दलित समुदायले पनि आफ्ना बालबच्चालाई उच्च शिक्षा दिनमा जोड दिनुपर्ने उनले बताए ।

नेपाल एकीकरण अभियानमा पनि दलित समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै पालिकाका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले दलितलाई सम्मानका साथ यथोचित स्थानमा राख्नु पर्ने तर्क गरे । ‘नेपाल एकीकरण अभियानका बेला हतियार दलित समुदायले नै बनाएका थिए । युद्ध आरम्भका बेला बाजा बजाउने पनि दलित समुदाय नै थिए तर जब युद्धमा जीत हात लाग्यो, तब अघि हिड्ने दलित समुदायलाई पछि पारियो । पछि बस्ने गैरदलित अग्रस्थानमा आए’, उनले भने, ‘बिगतमा जे जस्ता विभेद भए पनि अबको पुस्ताले विभेद हटाउनु पर्छ । विद्यालय तहदेखि नै विभेद अन्त्य गरी समाजमा समानता कायम गर्नुपर्छ ।’

मसेल दलित बिकास संस्थाको आयोजना तथा गाउँपालिकाको समन्वयमा दलित विशेष सशक्तिकरण कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले दलितका हक अधिकारका विषयमा कागजमा लेखिए पनि कार्यन्वयन नभएको, विद्यालय तहदेखि नै सामाजिक न्याय कायम हुनु पर्ने, सामन्ती प्रवृत्तिको जरा काटनु पर्ने, जातीय छुवाछुतविरुद्ध एकजुट भई समानता ल्याउनका लागि लडाइँ लड्नु पर्ने बिचार व्यक्त गरेका थिए ।

उठान भएका विषयहरुलाई सम्बोधन गर्दै पण्डित भिमकान्ता भागवतले जातिय विवेद अन्यका लागी आफैबाट सुरुवात गर्नुपर्ने बताए । पूर्खाहरुलेझैँ सहेर नबस्न उनले आग्रह गरे । आफ्नो हक प्राप्तिका लागि लडाई लड्नु पर्नेमा उनको सुझाव थियो ।
संस्थाका अध्यक्ष टिकाराम बिकको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गोपाल बिक, गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, छुवाछुत विरुद्धको नेपालका केन्द्रिय अध्यक्ष कर्ण बिकलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्