| बुधबार, कार्तिक २५, २०८३

सम्पदा बस्ती विकासका लागि पहल गरिदिन गोरखा बजारबासीको माग

गोरखा बजारमा सम्पदा बस्ती विकास गरिदिन माग गरिएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले गोरखाको ठूलोआँगन, तीनधारे, पँदेली लगायतका क्षेत्र समेटी सम्पदा बस्ती निर्माण गर्ने विषयमा पहल गरिदिन जनप्रतिनिधिहर समक्ष माग गरेका हुन् ।

शनिबार ऐतिहासिक संरक्षण तथा बिकास समिति गोरखाका पदाधिकारीहरुले गोरखा बजार क्षेत्रमा बिकास गरिने भनिएको ऐतिहासिक सम्पदा बस्ती निर्माणमा पहल गरिदिन माग गरेका हुन् । उनीहरुले गोरखाबाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्य, गोरखा घर भएका राजनीतिक व्यक्तित्वहरु उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाई, राष्ट्रिय सभा सदस्य कमला पन्त, राष्ट्रिय सभा सदस्य किरण बाबु श्रेष्ठ लगायतसँग भेटेर ऐतिहासिक क्षेत्र निर्माणको अवधारण अघि बढाउन पहल गर्न भनेका हुन् ।

सरकारले २०७६ सालमा नेपालको धार्मिक एवं ऐतिहासिक महत्व बोकेको देशभरिका छ वटा सहरहरुलाई सम्पदा बस्ती निर्माण गर्ने घोषण गरेको थियो । गोरखा बजार पनि त्यसमध्य एक थियो । चार बर्ष बितिसक्दा पनि सम्पदा बस्ती निर्माणका लागि सरकारीस्तरबाट एक कदम पनि नचालिएको भन्दै सो समितिका पदाधिकारीहरुले जनप्रतिनिधिहरु समक्ष सो विषय उठान गरेका हुन् ।

गोरखा सदरमुकामको ठूलोआँगन, पँदेली, धारापानी, पाटेचौर हुँदै गोरखा दरबारपरिसरसम्मको क्षेत्र पनि ऐतिहासिक सम्पदा बस्ती निर्माणका लागि छनोट भएको थियो । ऐतिहासिक सम्पदाबस्तीको अवधारण आएको झन्डै चारवर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन् । ऐतिहासिक सम्पदा बस्तीको अवधारण कागजमा मात्र सिमित हुन लागेकाले गोरखाबाट चुनाव जितेर गएका जनप्रतिनिधिहरुसँग भेटेर उनीहरुले सो अवधारण अघि बढाउन पहल गरिदिन आग्रह गरेका हुन् ।

मन्त्री, सांसद तथा नेताहरुसंग भेटी सम्पदा बस्ती निर्माणका लागि पहल गरिदिन माग गरेका ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समिति गोरखाका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । ‘अवधारण आएको चार वर्ष बितिसक्यो, तर प्रक्रिया कत्तिपनि अघि बढेको छैन’, उनले भने, ‘हामीले गोरखाबाट चुनाव जितेर गएका जनप्रतिनिधिहरुसँग भेटेर छिटो भन्दा छिटो काम अघि बढाउन पहल गर्न माग गरेका छौँ ।’ केही जनप्रतिनिधिहरु ऐतिहासिक क्षेक्ष निर्माणको अवधारण बारे नै बेखर रहेको उनले बताए ।

‘केही माननीयलाई त यो योजना बारे थाहै रहेनछ’, उनले भने, ‘शनिबार सबैसँग भेट्यौ, हाम्रो अवधारण बारे जानकार गरायौँ । सबैजनाले गोरखा बजारमा ऐतिहासिक सम्पदा बस्ती निर्माण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।’ गोरखा बजारलाई सम्पदा बस्ती निर्माण गर्न रवीन्द्र पुरी फाउण्डेशन नीजि क्षेत्रबाट पनि पहल गरिरहेको छ । ऐतिहासिक सम्पदा बस्ती निर्माणको अवधारणमा गोरखा नगरपालिकाले समेत अगुवाई गरेको छ । नगरपालिकाको बिकासको मुख्य आधार नै पर्यटन भएकाले पर्यटन बिकासका लागि सम्पदा बस्तीको विकल्प नभएको भन्दै नगरप्रमुख र उपप्रमुखले नगरपालिकाकै नेतृत्वमा सम्पदा बस्ती बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अन्य ठाउँहरुमा भने ऐतिहासिक सम्पदा बस्ती निर्माणको काम सुरु भईसकेको छ । सरकारले गत आर्थिक वर्ष गोरखाको ऐतिहासिक सम्पदा बस्ती निर्माणका लागि चार करोड ७६ लाख विनियोजन गरेको थियो । विनियोजित रकम मध्य जम्मा एक करोड मात्र परेको भनिएको र उक्त पैसा पनि नआएको समितिका अध्यक्ष श्रेष्ठले गुनासो गरे । ‘पहिलो चरणमा ३० घरहरुलाई प्रति घर ५० हजारको दरले बजेट आउँछ भनेर सरकारले प्रतिवद्धता जनाएको थियो’, उनले भने, ‘भुकम्पले भत्काएर जिर्ण बनेका घरहरुमा काम गर्न ५० हजार हात्तीको मुखमा जिरा जस्तै भयो, हामीले त्यो प्रस्तावना स्वीकार गरेनौँ ।

पछि गतवर्ष चार करोड ७६ लाख विनियोजन भएको भनेकोमा त्यो पनि आएन्, जिल्लाको समग्र बिकास जोडिएको ऐतिहासिक सम्पदा बस्ती निर्माणको अवधारण अवधारणमा मात्र सिमित हुने देखिएपछि यसलाई अघि बढाउन पुन माग गरेका हौँ’, उनले भने । समितिले आईतबार प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, शहरी बिकास मन्त्रालय र अर्थ मन्त्रालयमा पत्र समेत बुझाएका छ । ऐतिहासिक सम्पदा बस्ती निर्माणका लागि समितिले ५० करोडको प्रस्तावना राखेको र सो आयोजनालाई बहुवर्षिय आयोजना बनाएर अघि बढाउने ऐतिहासिक संरक्षण तथा बिकास समिति गोरखाका सचिव भक्तराम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्