| मङ्लबार, कार्तिक २४, २०८३

निमेकले चलेको गाउँ !

मेलिना बराम

खुर्पाजुङ : गोरखाको यस्तो एउटा गाउँ जहाँका बासिन्दा निमेकले गुजारा चलाउँछन् । हो, पालुङटार नगरपालिका वडा नं. १ को खुर्पाजुङका बासिन्दा निमेक गरेर नै आफ्नो दैनिकी गुजार्ने गर्छन् । सँधैजसो उनीहरु अर्काको घरमा निमेक गर्न जान्छन् । निमेक नगरे गुजारा गर्न पनि धौधौ पर्ने गरेको स्थानीय बताउँछन् ।

करिब ६० घरधुरी रहेको यहाँ ३० घरधुरी दलित समुदायको छ । गाउँका प्राय सबै युवा विदेश पलायन भएका र उनीहरुका जहान परिबार सहर झर्न थालेपछि घरहरु रित्तिनथालेका छन् । मान्छे भएका घरहरुमा पनि मुस्किलले दुईचार जना भेटिन्छन् ।
गाउँका बासिन्दाहरु आफ्नो पाखोबारी बाँझो छाड्ने र अरुको खेतबारीमा काम गरेर निर्वाह चलाउन रुचाउने गरेको स्थानीय टिका श्रेष्ठ बताउँछन् । गाउँ आसपास खेत छैन । पाखो बारी भने प्रशस्तै छ ।

‘गाउँका मान्छेहरु आफ्नो बारीमा गर्न रुचाउँदैनन् । चापाभञ्ज्याङ, फलामखानी, पोखरावेशीतिर अरुको खेतबारीमा काम गर्न जान्छन् । घर बनाउने र अरु ज्याला, मजदुरी गरेर जिविका चलाउँछन्’, उनी भन्छन्, ‘खेत छैन त के भयो पाखा बारी त पुग्ने गरी छ । गरी खाए यहीँ पनि हुन्छ, तर धेरैजसो कि इण्डिया, कि विदेश जान्छन् ।’

सोही वडाका डाक्टर बाबुराम भट्टराई पूर्व प्रधानमन्त्री समेत हुन् । गाउँकै मान्छे प्रधानमन्त्री बनेपनि बिकास भने केही नभएको श्रेष्ठले गुनासो गरे । ‘गाउँकै मान्छे प्रधानमन्त्री भइसके, विकास केही छैन’, श्रेष्ठ भन्छन्, ‘गाउँ उस्तै छ, बाटो घाटो उस्तै छ केही परिवर्तन छैन ।’ ६०/७० घर धुरी भएको गाउँमा सरकारी जागिर खाने मान्छे कोही पनि नभएको उनले सुनाए । सरकारी तथा निजामतितिर चासो दिने नगरेको उनको भनाइ छ । ‘सक्नी जति कोही विदेश, कोही इण्डिया गएका छन्, नसक्नीहरु यहीँ बस्छन् निमेक गर्छन् खान्छन्,’ उनले भने, ‘सरकारी जागिरमा पनि कसैको चासो छैन । सरकारी जागिरमा जान पढाइ छैन, धेरै दुःख हुन्छ भन्छन् ।’

केही वर्षअघि गाउँमा मान्छे भरिभराउ हुने गरेको अर्का स्थानीय कृष्ण श्रेष्ठ सुनाउँछन् । मान्छे हुँदाका बखत खेती राम्रो हुने गरेको उनी बताउँछन् । पहिला किनेर खानु पर्दा लाज हुने गरेको कुरा पनि उनी सम्झन्छन् । अहिलेको अवस्थामा नुनदेखि सुनसम्मका सामान किन्नु परेकोमा श्रेष्ठले निराशा व्यक्त गरे । ‘पहिले त गाउँभरि मान्छे हुन्थे, खेती किसानी गर्थे । नून र मट्टितेलबाहेक सबै आफैले उब्जाउँथे । अहिले खेती गर्ने मान्छे नि छैनन् । भएकाले पनि काम नगरेर सबै बाँझो छ,’ उनले भने, ‘पहिला किनेर खानु लाज हुन्थ्यो, अहिले सबै थोक किनेर खानु पर्छ । मकै र कोदो अलिअलि हुन्छ त्यति हो ।’

गाउँ घरका मान्छेलाई जति दुख गरेता पनि कहिले सुखका दिन नआउने टीका श्रेष्ठको भनाइ छ । शिक्षा, चेतनाको अभावले गाउँलेमा फजुल खर्च गर्ने बानी रहेको उनको भनाइ छ । ‘गाउँका मान्छेले जति दुख गरे पनि के भो त, उही हो दिनभरि कमाउने, रातभरि रमाउने,’ उनले भने । खुर्पाजुङ गाउँमा पानीको समस्या पनि उत्तिकै छ । गाउँमा ४ महिना पानीको ज्यादै समस्या हुने गरेको अर्की स्थानीय निर्मला श्रेष्ठले बताइन् ।

चैत, बैशाख ,जेठ र असार चार महिना पानीको निकै दुख हुने गरेको उनी सुनाउछिन् । चार महिना बाहेक अरु बेला पनि पानीको समस्या हुने गरेको श्रेष्ठले बताइन् । ‘चैत बैशाखमा मात्रै होइन, पानीको समस्या त अरु बेलामा नि उस्तै हो’, उनी भन्छिन्, ‘सुन्तलेबाट तानेको पानी हो । कहिले आउँछ,, कहिले आउँदैन । जहिले पनि बिग्रिएको छ मात्र भन्छन् ।’
पानी नआएको बेला करिब एक घण्टाको बाटो हिँडेर पानी बोक्नु पर्ने बाध्यता गाउँलेलाई छ ।

लाइनको पानी नआउँदा करिब आधा घण्टाको ओरालो बाटो हिडेर कोलकाटेमा पानी लिन जानु पर्ने गरेको निर्मला बताउँछिन् । ‘जाँदा ओरालो छ छिटो हुन्छ । पानी नआएको बेला गाँउको सबै मान्छे जान्छन्, पालो कुर्नु पर्छ’, निर्मला भन्छिन्, ‘पानी बोकेर फर्कँदा झन उकालो छ । पानी बोकेर आउनु पर्छ, धेरै बेर लाग्छ ।’ गाउँमा हाइस्कूल छैन । नौ, दस कक्षा पढ्न अन्नपूर्ण मावि जानका लागि जान एक, फर्कँदा एक गरी दुईघण्टा हिँड्नु पर्छ । विद्यालय टाढा हुँदा कतिपयले पढाइ पूरा नगरी छाड्ने समस्या पनि रहेको छ ।

गाउँमा मान्छे रितिँदै गएकोमा स्थानीय कृष्ण श्रेष्ठले दुख व्यक्त गरे । गाउँका गरी खान सक्ने जति सबै विदेश पलायन भएको कुराले उनी दुखी छन् । उनी आफ्नो हातको औला भाँच्दै रित्तिएका घरको संख्या गन्दै आफु बसेको टोलको मात्रै ९ घर पु¥याउँछन् । ‘धेरै जसो विदेश छन्, अलि अलि कमाइ गर्छन् अनि बेसी झर्छन्, धेरै कमाउन सक्ने गोरखा बजार काठमाडौंतिर जान्छन्,’ उनले भने, ‘नसक्नेहरु यहीँ बस्छन्, आफुले सकेको गरेर खान्छन्, घरमा मान्छे भएकाहरुको नि तेही बुढा–बुढी मात्रै त हो, कोही कोहीको घरमा होला ३÷४ जना त ।’गाउँमा घर त छ तर बस्ने मान्छे नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्