| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकाको नगरसभा ः छलफलको समय नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला, पुनः नगरसभाको माग

गोरखा नगरपालिकाको बिहिबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रस्तुत कार्यसूचीमा छलफलको समय नदिएको भन्दै नगर उपप्रमुखसहित कांग्रेस निकट नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रस्तुत कार्यसूचीहरुमा छलफलको समय माग गर्दा सभाध्यक्ष (नगर प्रमुख) ले समय उपलब्ध नगराएको र प्रमुख प्रशासकीय अधिकृतले पनि समन्वयकारी भूमिका निर्वाह नगरेको उनीहरुको आरोप छ ।
प्रेस बिज्ञप्ती जारी गर्दै उनीहरुले प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति घोर आपत्ति समेत जनाएका छन् ।
‘कार्यसूची बमोजिमका बिषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शव्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगरसभा अन्त्य भएको घोषणा गर्नुभयो,’ बिज्ञप्तिमा भनिएको छ, ‘प्रमुख प्रशासकीय अधिकृतबाट पनि समन्वयकारी भूमिका निर्वाह नगरी आफ्नो जिम्मेवारी पूरा गर्नुको सट्टा एकलौटी ढंगबाट नगरसभा अध्यक्षलाई अगाडि बढ्न प्रेरित गरेकाले प्रमुख प्रशासकीय अधिकृतप्रति पनि घोर आपत्ति प्रकट गर्दछाँै ।’
नगरसभाका सदस्यहरुको छलफलमा भाग लिने अधिकारबाट बञ्चित गरिएको भन्दै पुनः नगरसभाको आव्हान गरी कार्यसूची बमोजिमको नयाँ सिराबाट सभा संचालनको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन् ।
‘प्रस्ताव पेश गरेपछि नगरसभा सदस्यहरुले छलफल गर्न पाउनुपथ्र्याे, तर त्यो पाएनौ । प्रस्ताव पेश भएपछि एक्कासी पास भयो भन्दै ताली बजाए । समय माग गर्दा सभा सम्पन्न भएको घोषणा गरेर अध्यक्ष (मेयर) हिड्नुभयो,’ नगरसभा सदस्य एवं वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मियाले भने ।
सभामा नगर उपप्रमुख मसलीमाया थोकरले गोरखा नगरपालिकाको विनियोजन ऐन २०८० को पहिलो संशोधन प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामा नगरसभा सदस्य मियाले स्वास्थ्य ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव र शित्तलकाजी मास्केले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यसूचीमा नगरसभा सदस्यलाई छलफल गर्न नदिएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका हुन् ।
मेयर कृष्ण रानाले भने सबै प्रक्रिया पु¥याएर सभा सम्पन्न गरिएको बताए । ‘मंगलवार बैठक बसेर सबैको सहमतिले निर्णय गरेर कार्यक्रम गरेका हौ,’ उनले भने, ‘सिस्टम अनुसार नै सभा भएको हो, कार्यसूचिमा भएको कुरा हो–होइन भनेर पास गर्दै गएका पनि थियौ, सभा सकिएपछि बिरोध गर्नुभयो ।

उहाँहरुको के थियो थाहा भएन ।’ सभा सकिएपछि छलफल गर्ने समय पाएनौ भन्दै बिरोध गरेको बताउँदै उनले थपे, ‘समापन भएपछि म त्यहाँ बसिरहने कुरा पनि भएन, छलफल गरेर बसिरहने कुरा पनि आएन ।’

प्रतिक्रिया दिनुहोस्