| मङ्लबार, कार्तिक २४, २०८३

वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ को लोकार्पण

पूर्वमन्त्री एवं साहित्यकार चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ गोरखामा लोकार्पण भएको छ । बुधवार गोरखा संग्रहालयमा एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकार्पण गरिएको हो । शहीद लखन गाउँपालिका ८ का वाग्लेको यो तेस्रो कृति हो ।

उनको दोस्रो कृति ‘बलिदानले बनेको देश’ ले नेपाल एकिकरणको पहिलो अध्याय समेटेको छ भने ‘बहादुर शाह’ ले दोस्रो अध्याय समेटेको बताइएको छ । कार्यक्रममा उपन्यासको समीक्षा गर्दै डा. नवराज कट्टेलले यसले नेपाल एकिकरणमा अधिकारकुमार बहादुर शाहको योगदान र जीवनीका बारेमा उल्लेख गरिएको बताए । उपन्यासमा चिनसँगको युद्ध, तिब्बतको भुगोल एवं अन्य ऐतिहासिक तथ्यहरु समेत समेटिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपन्यासकार वाग्लेले राष्ट्र निर्माता पृथ्वी नारायण शाहका सच्चा सपुत बहादुर शाहलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले आफूले लेखेको उपन्यासले नेपालको इतिहासलाई प्रतिनिधित्व गरेको समेत बताए । यस पुस्तकले नेपालको राजनीतिक इतिहास अध्ययन गर्ने बलियो स्रोत साबित हुने उनको भनाइ छ । ३१६ पानाको उक्त उपन्यासले समग्र नेपाल र नेपालीहरुको परिवेशलाई समेत समेटेको उनले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वाग्लेको पुस्तकबाट नेपालको राजनीतिक इतिहासको ज्ञान लिन सकिने बताए । पुस्तक पढेर राजनीतिकर्ताहरुले इतिहासमा भए/गरेका गल्तीहरु नदोहो¥याउन र राम्रा कदमहरु सिक्न सुझाव समेत दिए । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षता तथा सामाजिक व्यक्तित्व जेष्ठ नागरिक नारायणभक्त अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, डा. लोक भट्टराई, बिनोदकुमार भट्टराई, यदुप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्