
अन्तर्राष्ट्रिय महिला दिवस लक्षित कार्यक्रम सम्पन्न
११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा गोरखा नगरपालिकामा महिला हक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बुधवार भएको कार्यक्रममा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले सहजिकरण गरेका थिए । उनले महिला हक अधिकार र कानुनी प्रावधानका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले हिंसामा परेका महिला तथा बालबालिकाहरुको विवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा नगरपालिकाको १४ वटै वडाका महिला सदस्य एवं महिलाले नेतृत्व गरेको संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवस फागुन २५ गते भएपनि उक्त दिन शिवरात्रीसमेत भएको हुँदा विविध कार्यक्रम हुने भएकाले पूर्व सन्ध्यामा कार्यक्रम गरिएको नगरपालिकाको न्यायिक समितिकी सदस्य सावित्रा थापा मगरले बताइन् ।




