
मुक्ति बालआश्रमको जग्गा फिर्ता गर्न स्थानीयबासीको माग
अनाथ, असहायको लालनपालन र पठनपाठन गराउने उद्देश्यले तीन दशकअघि गोरखा नगरपालिका १० छेपेटारमा सञ्चालन भएको मुक्ति बालआश्रमको जग्गा संस्थाकै नाममा फिर्ता गर्नुपर्ने स्थानीय बासीले माग गरेका छन् ।
विदेशी दातृसंस्थाको सहयोगमा मुक्ति बालआश्रम सञ्चालनका लागि २०५१ भदौमा खरिद गरेको १३ रोपनी जग्गा हिनामिना भएको भन्दै खोजी गरिदिन छेपेटारका बासिन्दाहरुले माग गरेका हुन् ।
संस्थाको १३ रोपनी जग्गा सञ्चालक कृष्ण घिमिरे र बिमला घिमिरेले बेचेर सिध्याएको भन्दै सो सम्पति संस्थाको नाममा फिर्ता हुनुपर्ने उनीहरुको माग छ ।
‘संस्था भनेको सार्वजनिक हुन्छ । सार्वजनिक संस्थाको नाममा रहेको जग्गा संस्थाकै हुनुपर्छ, व्यक्तिले बेचेर खान पाउँदैन भन्ने स्थानीय बासी सबैको भनाइ छ । मेरो व्यक्तिगत धारणा पनि त्यही हो’, गोरखा नगरपालिका १० का वडाअध्यक्ष प्रदीप कुँबर भन्छन्, ‘अहिले देशभरि सार्वजनिक संस्थाको जग्गा हिनामिनाको विषय उठिरहेको छ । कतिपयको फिर्ता भइसक्यो ।
कतिपयको खोजतलास भइरहेको छ । खोजतलास भयो भने मुक्ति बालआश्रमको पनि फिर्ता हुन सक्छ कि भन्ने आशा छ ।’
मुक्ति बालआश्रमको जग्गा संस्थाकै नाममा फिर्ता हुनुपर्छ भन्दै देश, विदेशमा बस्ने स्थानीयबासीहरुले सँधैसँधै भनिरहने उनको भनाइ छ ।
‘यहाँ पनि सँधै चोकचोकमा चर्चा हुन्छ । विदेश जानेहरुले पनि त्यो जग्गाको जोडदार खोजी हुनुपर्छ भनेर माग गरिरहन्छन्’, उनले भने । बिगत ३० बर्षअघि संस्थागत प्रयोजनका लागि खरिद गरिएको १३ रोपनी जग्गा २०७० सालदेखि घिमिरे दम्पतिले बेच्न सुरु गरेका पूर्व वडाअध्यक्ष देवीबहादुर बस्नेतको भनाइ छ ।
‘जग्गा बेच्न बिमला घिमिरेकी बहिनी र ज्वाई आएका थिए । उनीहरुले २०७२, २०७३ सालतिर बेचेर सकेका हुन् । म २०७४ सालमा वडाअध्यक्ष भएँ । त्यतिबेला बेचिसकेका थिए’, उनी भन्छन्, ‘म वडाअध्यक्ष हुँदा त्यो जग्गा किन्ने मान्छेले पनि तेस्रो व्यक्तिलाई बेच्न थालिसकेका थिए ।
’ संस्थाको जग्गा व्यक्तिले बेचेर खानु अनुचित हुने उनको भनाइ छ । ‘पहिले ती कृष्ण घिमिरेलाई बाल यौन दुव्र्यवहार गरेको आरोपमा मुद्दा लड्ने पनि मै हुँ’, उनी भन्छन्, ‘पछि अनाधि कृत रुपमा जग्गा बेचेको पनि थाहा थियो ।
म मात्रै एउटा व्यक्तिसंग दुश्मनी किन साँधिरहनु भनेर म चुप लागेँ । अरु कसैले पनि बिरोध गरेनन् । संस्थाको सम्पति ब्यक्तिलाई हडप्न दिनु हुदैनथ्यो ।’ संस्थाको जग्गामा व्यक्तिको रजगज भएकामा स्थानीयबासी सबैले विरोध गरिरहेका उनको भनाइ छ ।
बस्नेतका अनुसार विदेशी संस्थाले अनाथ, असहाय बालबालिकाहरुको उद्धार र लालनपालन गर्न मुक्ति बाल आश्रम स्थापना गरेकोे थियो । आश्रममा विभिन्न ठाउँका सानाठूला गरेर १८ जना बाल बालिकाहरु आश्रित थिए । दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालनको जिम्मा बिमला घिमिरे र उनका श्रीमान कृष्ण घिमिरेले लिएका थिए ।
विदेशी दातृसंस्था बाट प्राप्त रकमले घिमिरे दम्पतीले बालबालिकाहरुको संरक्षण र लालनपालन गर्ने गर्दथे । उनीहरुको खानपान, पढाइ, स्वास्थ्य उपचार लगायतका सबै खर्चहरु दातृ संस्थामार्फत नै गर्ने बस्नेतले बताए ।
अनाथ, असहाय बालबालिकालाई संरक्षण गर्ने, लालनपालन, शिक्षा दीक्षा दिने पवित्र उद्देश्यले स्थापना भएको सो मुक्ति बालआश्रम घिमिरे दम्पतिले लथालिंग बनाएका अर्का स्थानीय टिका लामाको पनि बिरोध छ ।
‘संस्था चलुञ्जेल देखा नपरेका घिमिरे दम्पतिका आफन्तहरु खिला र लक्ष्मीले जग्गा बेचेर सकेका हुन्’, वडा अध्यक्ष कुँबर भन्छन्, ‘बीच बजारको यति ठूलो परिमाणको जग्गा बेचेर ब्यक्तिले धनआर्जन गर्नु सरासर अन्याय हो ।
यो फिर्ता भएर संस्थाकै नाममा जानुपर्छ भनेर जहाँतहीँ आवाज उठिरहेको छ । देशका अरु ठाउँमा पनि यसरी सार्वजनिक सम्पत्ति बेचेर खानेबाट जग्गा फिर्ता गराइएको छ ।
यहाँको मुक्ति बालआश्रमले पनि त्यसैगरी न्याय पाउनु पर्छ ।’ विदेशी दातृसंस्थाको सहयोगमा आश्रम संचालन भएको सो जग्गा अहिले अनाधिकृत रुपमा धमाधम व्यक्तिका ठूला ठूला घरहरु बनिसकेका छन् ।
९ रोपनी उक्त जग्गा विभिन्न समयमा दयाराम ढकाल, पुन्यकुमार पन्त, ज्ञानु खड्का, रीता थापा आले, कविता आले, भानमाया राना, गोमा भन्तना, दुर्गा बस्नेत, सुवास पोखरेल, कुमारी थापा मगर, सरिता थापा, अलोककुमार श्रेष्ठ, निर्मला राना मगर र सन्दिपा लामा बस्नेतले खरिद गरेको मालपोत कार्यलयको विवरणमा उल्लेख छ । अहिले मुक्ति बालआश्रमको विभिन्न संरचना भत्काएर व्यक्तिको घर ठडिसकेको छ ।
संस्थाको एउटा पुरानो भवन मात्र बाँकी छ । बाँकी रहेको सो जग्गामा पनि धेरै नै विवाद भइरहेको स्थानियहरु बताउँछन् । ‘अहिले एक टुक्रा जग्गा बाँकी छ त्यो जग्गा पनि मेरो हो, मेरो होे भन्ने महिनामा १०÷१२ जना आउँछन्’, टिका लामाले भने ।




