
मगर एकता दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइयो
४२औँ राष्ट्रिय मगर एकता दिवस गोरखामा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मगर समुदायको बाहुल्यता रहेको गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपािलका र बारपाकसुलिकोट गाउँपालिकामा पालिका स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर एकता दिवस मनाएको नेपाल मगर संघ केन्द्रीय सदस्य विष्णु राना मगरले बताए ।
सबै पालिका स्तरीय समितिहरुले मगर एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदाको पहल गरिदिन स्थानीय सरकारसँग माग गरेको रानाले बताए । पालिका स्तरीय कार्य समितिहरुले नेपाल मगर संघका १५ संस्थापकहरुको फोटोलाई सम्मान गरेर आफ्नो स्थापना दिवस मनाएका हुन् । दिवसको अवसरमा मंगलबार नेपाल मगर संघ गोरखा नगर समिति, नेपाल मगर महिला संघ गोरखा र नेपाल मगर विद्ययार्थी संघ गोरखाले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मगर संघ गोरखा नगर समितिका अध्यक्ष होमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर महिला संघ गोरखाकी सचिव सावित्रा थापा मगर र नेपाल मगर विद्यार्थी संघ गोरखाकी अध्यक्ष अस्मिता थापा मगर लगायतले मन्तव्य राखेका थिए । दिवसकै अवसरमा नेपाल मगर संघ गण्डकी गाउँपालिका समितिले गण्डकी गाउँपालिका वडा नं २ दलभञ्ज्याङमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित पालिका समितिको दोस्रो अधिबेशन समेत सम्पन्न गरेको छ ।
समितिले दिवसको अबसरमा मगर समुदायमा प्रख्यात नृत्य कौडा, सोरठी, मारुनी र मगर पञ्चे बाजाको प्रदर्शनी गरेको थियो । नेपाल मगर संघ गण्डकी गाउँपालिका समिति अध्यक्ष झबिन्द्र राना मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना, सहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगर, नेपाल मगर संघ केन्द्रिय समिति सदस्य विष्णु राना मगर, नेपाल मगर संघ जिल्ला समिति गोरखाका अध्यक्ष अशोक राना मगर, नेपाल मगर संघ सचिव टंक राना मगर लगायतको उपस्थिति रहेको थियो ।




