
छेपेटारमा रहेको मुक्ति बाल आश्रमको ९ रोपनी जग्गा खै ?

२०५१ साल भदौ महिनामा हालको गोरखा नगरपालिका १० छेवेटारस्थित बीच बजारमा पर्ने ९ रोपनी जग्गा सिरान्चोक गाउँपालिका ५ छोप्राककी विमला घिमिरेले किनिन् । घिमिरेले उक्त जग्गा मुक्ति बालआश्रम सञ्चालन गर्ने प्रयोजनका लागि विदेशी संस्थाको सहयोगमा किनेकी थिइन् ।
जानकारहरुका अनुसार त्यतिबेला संस्थाको नाममा जग्गा दर्ता गर्ने चलन थिएन । त्यसैले विदेशी संस्थाले विमलाको नाममा ९ रोपनी जग्गा बाल आश्रम निर्माण गर्न खरिद गरेको थियो । जग्गा खरिद गरेकोे केही समयमै सो जग्गामा बालआश्रमको प्रयोजनका लागि केही भवनहरु निर्माण भए । सो भवनमा ‘मुक्ति बाल आश्रम’ नामक साइनबोर्ड राखेर बालआश्रम संचालनमा आयो । आश्रम संचालनमा आएको केही वर्षपछि संचालक कृष्ण घिमिरेलाई आश्रमकी बालिकामाथि यौन शोषण गरेको आरोपमा मुद्दा दर्ता भयो । उनी पक्राउ परे । लामो विवादपछि आश्रम बन्द भयो ।
स्थानीय देवीबहादुर बस्नेतका अनुसार विदेशी संस्थाले अनाथ, असहाय बालबालिकाहरुको उद्धार र लालनपालन गर्न मुक्ति बाल आश्रम स्थापना गरेकोे थियो । आश्रममा विभिन्न ठाउँका सानाठूला गरेर १८ जना बालबालिकाहरु बसेका उनले जानकारी दिए । आश्रमको सबै जिम्मा बिमला घिमिरे र उनका श्रीमान कृष्ण घिमिरेले गरेका थिए । विदेशी दातृसंस्थाबाट प्राप्त रकमले घिमिरे दम्पतीले बालबालिकाहरुको संरक्षण र लालनपालन गर्ने गर्दथे । उनीहरुको खानपान, पढाइ, स्वास्थ्य उपचार लगायतका सबै खर्चहरु दातृ संस्थामार्फत नै गरिने उनले बताए ।
अनाथ, असहाय बालबालिकालाई संरक्षण गर्ने, लालनपालन, शिक्षा दीक्षा दिने पवित्र उद्देश्यले स्थापना भएको सो मुक्ति बालआश्रम घिमिरे दम्पतिले लथालिंग बनाएका अर्का स्थानीय टिका लामा बताउँछन् । ‘त्यो आश्रमको मुख्य मान्छे कृष्ण घिमिरे हो’, आश्रमको छेउमा घर भएका उनी भन्छन्, ‘हामी २०५० साल फागुनमा यहाँ बस्न आयौँ । अनि भदौमा घिमिरेले यो जग्गा किनेको हो ।’ जग्गा किनेको दुई बर्षभित्र संरचनाहरु बनाएर बालआश्रम सञ्चालन गरेको उनले बताए ।
‘जग्गा लिएको २/४ वर्षमै घर संरचनाहरु बनाएर अनाथ बालबालिका राख्न थालेका थिए’, लामा भन्छन्, ‘आश्रम सञ्चालनका लागि धेरै बजेट आउथ्यो । बच्चाहरुको लुगा धुने, खाना बनाउने, खुवाउने, बिहान बेलुका पढाउने छुट्टै कर्मचारीहरु पनि राखेका थिए । एकदम व्यवस्थित रुपमा चलेको थियो । विदेशीहरु बेलाबेलामा आश्रम अनुगमन गर्न आउने गर्थे । तर पछिपछि सञ्चालकले विदेशी आउँदा राम्रो लुगा लगाएर राख्ने तर अघि पछि राम्रो व्यवहार गर्न छोडेका थिए ।’

मुक्ति बालआश्रम सञ्चालन गर्ने बहानामा घिमिरे दम्पतीले दातृसंस्थाको रकम दुरुपयोग गरेर धन आर्जन गरेको स्थानीयबासीको आरोप छ । ‘पछिपछि गएर आश्रममा बस्ने बालिकाहरुमाथि घिमिरेले दुव्र्यबहार, यौनदुव्र्यवहार गर्ने गरेको गाइँगुईँ सुनिन थाल्यो । तर बाहिर अरुलाई भन्न डराउँथे । एकदिन एकजना १० कक्षामा पढ्ने बालिकाले आफूमाथि यौनदुव्र्यबहार भएको कुरा खुलासा गरिन्’, लामाले भने, ‘त्यसपछि कृष्ण घिमिरेमाथि अदालतमा मुद्दा प¥यो, अनि यो खबर दातृसंस्थामा पनि पुग्यो । पछि आश्रम बन्द भयो । यहाँ बस्ने कोही बच्चाहरु माइती नेपालले लग्यो, कोही आफ्नै आफन्तकोमा गए र कोहीलाई भने कृष्ण घिमिरेका भाइले लगे ।’ घिमिरेका भाइले पनि पोखरामा त्यस्तै बाल आश्रम चलाउने लामाले बताए ।
कृष्ण घिमिरेलाई बाल यौन शोषणको मुद्दा लागेको वडा नं १० का पूर्व वडा सदस्य गोकर्ण थापाले जानकारी दिए । उनले भने, ‘घिमिरेले आश्रमको बालिकालाई यौन शोषण गरे भनेर मुद्दा प¥यो त्यसपछि आश्रमनै बन्द भयो ।’ जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतसम्म पुगेको मुद्दा त्यतिबेला घिमिरेले जितेका थिए । उनीमाथि आश्रमको दुरुपयोग गरेको मुद्दा पनि लागेको थियो । आश्रम बन्द भएपछि घिमिरे आश्रम दुरुपयोगसम्बन्धी मुद्दा पनि जितेका थिए । त्यसपछि उनले आश्रमको नामको सबै जग्गा बेचेको थापाको भनाइ छ ।
कृष्ण घिमिरेले आश्रमको सबै जग्गा बेचेको छेपेटारका बासिन्दाहरुको भनाइ छ । ‘घिमिरे धेरै बाठो थिए । धेरै कुरा नबुझ्ने सिधासादा मान्छेहरुलाई समितिमा राखेर जग्गा आफ्नो नाममा बनाए’ स्थानीय टिका लामा भन्छन्, ‘आश्रमको जग्गा व्यक्तिको नाममा लालपूर्जा भएपछि कानुनको नजरमा उ माथि परिहाल्यो, अनि मुद्दा जित्यो ।’ घिमिरे दम्पतिले विमलाकी बहिनी लक्ष्मी सापकोटामार्फत सबै जग्गाहरु बेचेको स्थानीयबासी बताउँछन् ।
आश्रम बन्द भएपछि विमला घिमिरेले जग्गाको लागि सर्वोच्चमा समेत मुद्दा लडेकोे गोरखा नगरपालिका १० का पूर्व वडा अध्यक्ष देवी बस्नेतले जानकारी दिए । विमलाले अदालतको मुद्दा जितेको र फैसला अनुसार उक्त जग्गा विमला घिमिरे, उनकी छोरी अन्जली घिमिरे र छोरा अनिष घिमिरेको नाममा पास भएको बस्नेतले जानकारी दिए ।
विदेशी दातृसंस्थाको सहयोगमा आश्रम संचालन भएको सो जग्गा अहिले धमाधम व्यक्तिका ठूला ठूला घरहरु बनिसकेका छन् । ९ रोपनी उक्त जग्गा विभिन्न समयमा दयाराम ढकाल, पुन्यकुमार पन्त, ज्ञानु खड्का, रीता थापा आले, कविता आले, भानमाया राना, गोमा भन्तना, दुर्गा बस्नेत, सुवास पोखरेल, कुमारी थापा मगर, सरिता थापा, अलोककुमार श्रेष्ठ, निर्मला राना मगर र सन्दिपा लामा बस्नेतले खरिद गरेको मालपोत कार्यलयको विवरणमा उल्लेख छ ।
मुद्दा जितेर विमला घिमिरेले २०७० देखि २०७४ सालसम्ममा उनकी बहिनी लक्ष्मीमार्फत सबै जग्गा बेचेको पूर्व अध्यक्ष बस्नेतले जानकार दिए । व्यक्तिको नाममा दर्ता भइसकेपछि अहिले मुक्ति बालआश्रमको भवन तथा विभिन्न संरचना भत्काएर व्यक्तिको घर बनिसकेको छ । त्यतिबेलाको एउटा भवन मात्र बाँकी छ । त्यो जग्गामा पनि धेरै नै विवाद भइरहेको स्थानियहरु बताउँछन् । ‘अहिले एक टुक्रा जग्गा बाँकी छ त्यो जग्गा पनि मेरो हो, मेरो होे भन्ने महिनामा १०/१२ जना आउँछन्’, आश्रम छेउमा घर भएका टिका लामाले भने ।




