| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा बजारलाई सम्पदा बस्ती बनाउन नगरपालिकाले अगुवाइ गर्ने

गोरखा सदरमुकामको पुरानो बजार(ठूलोआँगन) क्षेत्रलाई सम्पदा बस्ती बनाउन गोरखा नगरपालिकाले अगुवाइ गर्ने भएको छ । बिहिबार गोरखा नगरपालिकामा आयोजित ‘सम्पदा बस्ती निर्माण अवधारणा तथा अनुदान मापदण्ड प्रस्तुति तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण राना तथा उपमेयर मसलीमाया थोकरले नगरपालिकाकै नेतृत्वमा सम्पदा बस्ती बनाउने प्रतिवद्धता व्यक्त गरे ।

गोरखा नगरपालिकाको विकासको आधार भनेकै पर्यटन भएकाले पर्यटन विकासका लागि सम्पदा बस्तीको विकल्प नभएको मेयर राना मगरले जनाए । सम्पदा बस्ती निर्माणका लागि यसअघि पनि प्रधानमन्त्री, उपप्रधानमन्त्रीसम्म धाएकाले अझै पनि अथक रुपमा धाइरहने उनले बताए । ‘गोरखा यसै ऐतिहासिक नगरी हो । यसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको विकासले यहाँको पर्यटन विकास हुन्छ’, उनले भने, ‘त्यसैले सर्वप्रथम यसलाई सम्पदा बस्तीका रुपमा विकास गर्नुको विकल्प छैन । सम्पदा बस्ती बनाउन नगरपालिकाले अग्रणी भूमिका निर्वाह गर्छ ।’

यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्रीलाई भेट्न गएको, उनीहरुले सम्पदाबस्तीका लागि बजेट आउँछ भनेका, तर बजेट नपाएको उनले गुनासो गरे । ‘बजेट आउँछ भन्नुभयो, तर यहाँ पाइएन । तर पाइएन भनेर हामी निराश हुदैनौँ, बारम्बार प्रयास गरिरहन्छौँ’, उनले भने । मनग्य पैसा कमाएपछि बजार क्षेत्रका बासिन्दाले गृहनगर छाड्ने प्रवृत्तिले बजारको विकास अपेक्षाकृत हुन नसकेको मेयर रानाले बताए । ‘करोड कमाएपछि गोरखामा बस्नुहुन्न भन्ने मान्यता विकास भयो ।

संवृद्ध बन्दै गएका स्थानीयबासीले गृहनगर छाडेपछि यहाँको विकास कसले गर्ने ? तनहूँबासीले ?, लम्जुङबासीले ? कि चितवनबासीले ? स्थानीयले थातथलो छाड्दै जान थालेपछि बाहिरबाट आएकाले यहाँको विकास कसरी सम्भव छ ?’
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले आजभन्दा २० बर्षअघि सम्पदा बस्ती बनाउनु पर्नेमा ढिलाइ भएको बताइन् । साथै उनले गोरखाको विकास गर्न गोरखाबाट जितेर गएका जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै गुनासो गरिन् ।

‘यहाँबाट जितेर जानेहरु प्रधानमन्त्री भए, उपप्रधानमन्त्री भए, मुख्यमन्त्री भए, सभामुख भएको दुई बर्ष पूरा हुन लाग्यो’ उनले भनिन्, ‘तर उहाँहरु गोरखाको विकासका लागि चिन्तन गर्न कहिल्यै एक ठाउँमा बसेका छन् भन्ने सुन्नु भएको छ ? छैनन् । उहाँहरुलाई आफ्नै पार्टीका कार्यकर्ता व्यवस्थापन गर्दैमा भ्याइनभ्याइ छ ।’ जिल्लाको मुहार फेर्नेखालका कार्यक्रमहरु केही सुरु हुन नसकेको उनले बताइन् । ‘चुनावका बेला ठूला गफ गर्दै हिड्नु भयो । जिल्लाको मुहार फेर्ने खालका कार्यक्रम खै चाहिँ सुरु गर्नुभयो ?’, उनले भनिन्, ‘तपाईहरुका कारणले भावी पुस्ताले दुख पाउने वाला छन् ।’ साथै उनले सम्पदा बस्ती निर्माणको प्रक्रिया यथासीघ्र सुरु गर्नुपर्ने बताइन् । त्यसको अगुवाई गोरखा नगरपालिकाले नै लिने बताइन् ।

कार्यक्रममा बोल्दै स्थानीयबासी धिरजबहादुर मास्केले सम्पदाबस्तीले गोरखा बजारको मुहार फेर्ने भएकाले यसका लागि प्रक्रिया अघि बढाउन ढिला गर्न नहुने तर्क गरे । त्यस्तै अर्का स्थानीय मोहनलाल श्रेष्ठले सम्पदा बस्ती कागजमा मात्र सीमित भएको लामो समय भइसकेकाले त्यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । ‘कागजमा मात्र लेखेर पनि हुदैन, जुँगामा ताउ लगाएर मात्र पनि हुदैन’, उनले भने, ‘पुरातन सोचले अहिलेसम्म आफ्नो ठाउँको विकास हुन नसकेकाले सोच परिवर्तन गर्नुपर्छ । सम्पदा बस्तीमा जाने बारेमा आम सहमति जुटाएर अघि बढ्नुपर्छ ।’

अर्का बक्ता सितलकाजी मास्केले सम्पदा बस्ती कार्यान्वयनका लागि ढिला गर्न नहुने भन्दै प्रक्रिया सुरु गरिहाल्नु पर्नेमा जोड दिए । ‘अनुदान दिँदा आर्थिक स्तर माथि हुनेलाई कम र न्यून आर्थिक अबस्था हुनेलाई केही बढि दिनुपर्छ’, उनले भने ।
अर्का बक्ता सुरेशमान श्रेष्ठले सम्पदा बस्तीका लागि २०७६ चैतबाट छलफल अघि बढेको भन्दै तर अहिलेसम्म कागजी रुपमा अघि बढ्न नसकेको बताए । ‘नेपाल एकीकरणका बेला गरेको योगदान र बलिदानीको पुरस्कार स्वरुप प्राप्त सम्पदा बस्तीलाई कार्यान्वयन गर्न ढिला गर्नु हुन्न’, उनले भने ।

कार्यक्रममा बोल्दै अर्का स्थानीय विश्वदेव श्रेष्ठले आफू सम्पदा बस्तीको विरोधी नभएको स्पष्ट पार्दै तर यसले स्थानीयबासीलाई हुने लाभका बारेमा स्थानीय स्तरमा व्यापक अन्तरक्रिया गर्न जरुरी रहेको बताए । ‘आफूलाई कुनै फाइदा नै हुँदैन भने स्थानीयबासीले किन खर्च गरेर सम्पदा बस्ती बनाउँछ ?’, उनले भने, ‘फाइदा हुन्छ भने कसरी हुन्छ ? सर्वसाधारणलाई भेला गरी पर्याप्त अन्तरक्रिया गर्नु जरुरी छ ।’ सम्पदा बस्तीको दायरा बढाउनु पर्ने उनले जोड दिए ।

अर्का बक्ता श्रवण जोशीले अजरबैजान, स्तानबुल, कोपनहेगन जस्ता सहर सम्पदा बस्तीका रुपमा विकास भएकाले त्यहाँ पर्यटक थेगिनसक्नु भएको भन्दै यसलाई सम्पदा बस्ती घोषणा गरी कार्यक्रम अघि बढाउन ढिला गर्न नहुने उनले बताए ।
कार्यक्रममा सम्पदा बस्तीका अभियन्ता रवीन्द्र पुरीले सम्पदा बस्तीको महत्व दर्शाउँदै ठूलो आँगन क्षेत्रलाई सम्पदा बस्ती बनाएर विकास गर्न सकिने मोडलको भिडियो प्रदर्शन गरेका थिए । गोरखा बजार सम्पदा बस्ती अभियानका अभियन्ता राजुबाबु श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रममा रवीन्द्र पुरी फाउण्डेशनले तयार गरेको थ्रिडी नक्शा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्