| मङ्लबार, कार्तिक २४, २०८३

दर्ता छैनन् गोरखाका चर्चहरु, चर्चको जग्गा र भवन व्यक्तिको नाउँमा

गोरखा नगरपालिका ८ रानीवनमा ‘लिभिङ होप’ चर्च सञ्चालन हुन थालेको ११ बर्ष भयो । तर न चर्च दर्ता भएको छ, न त चर्चको जग्गाको लालपूर्जा आफ्नो नाउँमा छ ।

चर्चले चर्चेको चार रोपनी जग्गाको लालपूर्जा तीन जनाको नाउँमा रहेको पास्टर यशु विश्वकर्मा बताउँछन् । ‘चर्चको लालपूर्जा नृपेश कुँवर, ज्ञानु सुन्दास र मेरो नाउँमा छ’, पास्टर विश्वकर्मा भन्छन्, ‘चर्च दर्ता गर्ने व्यवस्था भएको भए लालपूर्जा पनि चर्चकै नाउँमा हुन्थ्यो होला, तर चर्च दर्ता नभएपछि लालपूर्जा पनि व्यक्तिको नाउँमा दर्ता गर्नुपर्ने अबस्था छ ।’

गोरखा नगरपालिका ६ स्थित विनय चर्चको आठ आना जग्गाको लालपूर्जा पनि पास्टर तेज बराम, प्रवीण बोगटी र आशामाया गुरुङको नाउँमा छ । ‘हामीले जग्गा किनेको त भर्खर एक बर्ष जति भयो, तर जग्गा व्यक्तिकै नाउँमा छ’, गोरखाली खृष्टिय समुदायका सचिवसमेत रहेका बराम भन्छन्, ‘मन्दिरहरुको जस्तै चर्चको जग्गा र भवन पनि चर्चकै नाउँमा दर्ता गर्ने रहर त छ, तर त्यो व्यवस्था छैन ।’ चर्चकै नाउँमा लालपूर्जा नहुँदा यदाकदा समस्या पनि उब्जिने गरेको उनी बताउँछन् ।

‘जिल्लाभरिमा २५० भन्दा धेरै चर्चहरु सञ्चालनमा छन् । उनीहरुमध्य दुईसय भन्दा धेरै चर्चको आफ्नै जग्गा र आफ्नै भवन छन्’, उनी भन्छन्, ‘आफ्नै नाउँमा जग्गा र भवनको लालपूर्जा नहुँदा यदाकदा समस्याहरु उब्जिएको सुनिन्छ ।’ चर्चलाई अनिबार्य रुपमा सरकारी संयन्त्रमा दर्ता गरेर जानुपर्ने व्यवस्था हुने हो भने कुनै समस्या पनि उत्पन्न नहुने बरु झन व्यवस्थित हुने उनले तर्क गरे ।

गोरखा नगरपालिका ५ सतिपिपलस्थित पुनरुत्थान एक्लेसिया चर्चको १० आना जग्गा पास्टर चण्डिका श्रेष्ठको नाउँमा दर्ता छ । चर्च भवन निर्माणका लागि कृषि विकास वैँकबाट कर्जा लिन एकजनाको नाउँमा लालपूर्जा बनाएको पास्टर श्रेष्ठको भनाइ छ । ‘त्यो जग्गा र भवनमा घर परिबारको हकदावी नलाग्ने गरी कागजपत्र बनाएर ऋण झिक्नका लागि मेरो नाममा लालपूर्जा बनाएको हो’, गोरखाली खृष्टिय समुदायकी पूर्व सचिवसमेत रहेकी उनी भन्छिन्, ‘एकजनाको नाउँमा मात्र दर्ता गर्दा कतैकतैचाहिँ समस्या पनि आएको देखिन्छ ।’

गोरखा नगरपालिका ११ स्थित लामागरा जीवन चर्च पनि पास्टर यम तामाङको नाउँमामात्र दर्ता छ । उनले सो चर्चको जग्गा वैँकमा राखेर वैँकबाट ऋण झिकेको जनाएका छन् । चर्चकै प्रयोजनका लागी सो लोन लिएको उनको दाबी छ । एकजना व्यक्तिको नाउँमा मात्र लालपूर्जा रहेका कतिपय चर्चमा विवाद उब्जिने गरेको गोरखाली खृष्टिय समुदायको भनाइ छ । ‘चर्च पनि दर्ता गर्ने व्यवस्था भए चर्चकै नाउँमा जग्गाको लालपूर्जा र भवनको स्वामित्व पनि संस्थागत हुनेथियो’, समुदायका अध्यक्ष देववहादुर थापा भन्छन्, ‘तर अहिलेसम्म चर्च दर्ता गर्ने व्यवस्था नै छैन ।

संस्था दर्ता गरेझैँ विधान बनाएर दर्ता गर्नुपर्ने रहेछ । यसरीचाहिँ खृष्टियन समुदायको छाता संस्थाहरुचाहिँ दर्ता भएका छन् । चर्चलाई संस्थाझैँ दर्ता गर्न पनि सकिँदैन ।’ चर्चलाई मन्दिर, मस्जित, गुम्बाझैं गरी दर्ता गर्न सके व्यवस्थित हुने उनको भनाइ छ ।
चर्चको दर्ता गर्ने विषय अन्यौलग्रस्त रहेको खृष्टिय समुदायको भनाइ छ । चर्च धार्मिक संस्था भएकाले धार्मिक संस्थाकै रुपमा दर्ता गर्ने विकल्प खुल्ला हुनुपर्ने समुदायका सचिव तेज बरामको माग छ ।

चर्चलाई मन्दिरझैँ दर्ता गर्ने व्यवस्था छैन । चर्च दर्ता गर्दा दुई तरिका अपनाउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल बताउँछन् । ‘कि संस्था दर्ता ऐनअनुसार विधान दर्ता गरेर गर्नुपर्छ किचाहिँ, मुनाफारहित कम्पनीझैँ कम्पनी रजिस्ट्रार्ड कार्यालयमा पनि दर्ता गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्