
गोरखामा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने
जिल्लामा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति गोरखाले दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
बिहीवार पत्रकारहरुसँग भेटघाट गर्दै जिल्ला समन्वय समिति प्रमुख मोहनबहादु थापाले फागुन ६ गते गोरखा सदरमुकामको रानीपोखरी र गोरखा दरबार परिसरमा सरसफाई गर्ने बताए । सरसफाईमा आवश्यक सामग्रीहरु जिल्लामा रहेका गैरसरकारी संस्थाले प्रदान गर्ने उनले जानकारी दिए ।
फागुन ७ गते प्रभातफेरी कार्यक्रम हुने बताइएको छ । जिससको परिसरदेखि शुरु हुने प्रभातफेरी बिसौनीमोड, बसपार्क, ठुलोआँगन, पाटेचौर, अस्पतालचोक, हरमटारी हुँदै पुनः जिसस परिसरमा आएर टुंगिने थापाले जानकारी दिए । उनका अनुसार फागुन ८ गते समितिको सभाहलमा प्रजातन्त्र र यसमा आम नागरिकको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम समेत हुने छ ।
जिससकै सभाहलमा हुने कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, राजनीतिक दलहरु, पत्रकार लगायतको सहभागितामा रहने बताइएको छ ।




