
एसपी श्रेष्ठको नजरमा जिल्लाको सुरक्षा चुनौतीः बुढीगण्डकी आयोजनादेखि चीनसँगको सीमा नाकासम्म
जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जिल्लामा थुप्रै सुरक्षा चुनौतीहरु रहेको बताएका छन् । बिहीवार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले भौगोलिक बिकटताका कारण जिल्लामा सुरक्षा चुनौती उच्च रहेको बताएका हुन् ।
मनास्लु पदमार्ग तथा मनास्लु हिमाल आरोहण गर्न आउने बिदेशी नागरिकको गतिविधि एवं अभिलेखिकरणमा समस्या हुने गरेको उनले जानकारी दिए । ‘उहाँहरु जिल्ला सदरमुकाम नआई सिधै हेलिकप्टरबाट त्यो ठाउँमा जानुहुन्छ,’ उनले भने, ‘त्यसैले उहाहरुको गतिविधि र अभिलेख राख्न हामीलाई समस्या हुने गरेको छ ।’ मनास्लु क्षेत्रमा आउने पर्यटकहरु बिरामी हुदाँ वा हराउँदा खोजतलास तथा उद्दारमा समेत समस्या हुने गरेको उनले बताए । ‘कसैको मृत्यु भइहालेमा पनि खोजतलास र उद्धार गर्न हामीसँग ए त पर्याप्त प्रहरी जनशक्ति छैन, अर्काे आवश्यक स्रोत साधन पनि अभाव छ । रेस्क्यू एजेन्सी नहुदाँ पनि समस्या भएको हो,’ श्रेष्ठले भने ।
चीन तर्फको उत्तरी सिमानामा सीमा सुरक्षा पोष्टको समेत अभाव रहेको उनको भनाइ छ । बिकट क्षेत्रका प्रहरी चौकीहरु स्वयम जोखिममा रहेको उनले बताए । जिल्लाका राष्ट्रिय गौरवको अयोजनाः बुढीगण्डकी जलबिद्युत आयोजना र मध्यपहाडी लोकमार्गको सुरक्षा व्यवस्थापनमा समेत चुनौती भएको उनले जानकारी दिए । आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायमका लागी थुप्रै प्रयासहरु भएको उनले बताए । दरवन्दी अनुसार जनशक्ति पूर्ति हुन नसक्नु अर्काे समस्या रहेको छ । जिल्लाको कुल दरवन्दी ६ सय ८९ रहेपनि हाल ५ सय ९६ जना कार्यरत रहेको बताइएको छ ।
श्रेष्ठको कार्यकालको प्रगतिः जनचेतनामूलक कार्यक्रमदेखि भौतिक संरचना निर्माणसम्म
कार्यक्रमकै अवसर पारेर एसपी श्रेष्ठले आफ्नो एक बर्षे कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । २०७९ साल माघ महिनामा गोरखा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उनले आफ्नो कार्यकालमा बिभिन्न अपराध बिरुद्धको अभियानहरु संचालन भएको जानकारी गराए । ‘२०७९ साल माघ महिनामा म जिल्ला आएको हुँ, त्यो समयदेखि २०८० माघसम्म ८ सय ५ वटा अपारध बिरुद्धका बिभिन्न कार्यक्रमहरु संचालन ग¥यौ,’ एसपी श्रेष्ठले भने, ‘२९ हजारभन्दा बढी नागरिक लाभान्वित भए ।’
घरेलु हिंसा, लागूऔषध, मानव वेचविखन तथा ओसारपसार, बहुविवाह, साइवर अपराध र आत्महत्या सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिएको उनले बताए । स्थानीय तह र बिभिन्न संघसंस्थाको समन्वयमा कार्यक्रम भएको बताइएको छ । १ सय १३ वटा बिद्यालय तथा कलेजमा सचेतनामूलक कार्यक्रम समेत संचालन गरिएको उनको भनाइ छ ।
त्यस्तै उनले आफ्नो कार्यकालमा कुल ३ सय २९ वटा मुद्दा दर्ता भएको जानकारी दिए । जसमध्ये १ सय ५५ वटा फछ्र्याैट भएको र १ सय ६४ वटा अनुसन्धानमा रहेको बताइएको छ । एक बर्षको अवधिमा २ सय २४ जना फरार प्रतिवादी समेत पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक बिरुद्ध अपराधका मात्रै ४० वटा मुद्दा थिए,’ उनले भने । उनका अनुसार कर्तव्य ज्यानको २, जवरजस्ती करणीको २१, जवरजस्तीकरणी उद्योगको २, बालयौन दुराचारको ५ र बहुविवाहको ११ वटा मुद्दा दर्ता भएको थियो ।
त्यस्तै १ सय ६९ जना व्यक्ति हराएको भनी उजुरी परेको थियो । जसमध्ये १ सय ३४ जना फेला पारेर सम्बन्धित परिवारलाई बुझाइएको उनले बताए । ‘मेरो कार्यकालमा मोवाइल हराएको भनी ९४ जनाको उजुरी परेको थियो, त्यसमध्ये हामीले २७ वटा फेला पारेर सम्बन्धित धनीलाई बुझायौ,’ उनले भने ।
आफ्नो कार्यकालमा भएको प्रगतिबारे जानकारी गराउँदै एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा स्तनपान सहितको बालबालिका निगरानी÷शिशु स्याहार कक्षको स्थापना भएको बताए । कार्यालय परिसरमा रहेको सवारी पार्किङ ग्यारेज तथा ब्यारेक भवन, मेश तथा क्यान्टिन भवन, जुनियर अफिसर निवास, सेवाग्राहीका लागी निर्माण भएको शौचालय लगायतका संरचनाको समेत स्तरोन्नती भएको बताइएको छ । कार्यालय परिसरमा कम्पाउण्ड निर्माण तथा स्तरोन्नतीसँगै ब्यारेक भवनमा इन्टरनेट, इन्र्भटर र स्नान कक्षमा तातोपानीको समेत व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । ‘सेवाग्राहीका लागी कार्यालयभित्रै मोवाइल चार्जिङ पोर्ट, पिउने पानी र निशुल्क वाइफाइको व्यवस्था समेत गरिदिएका छौ,’ उनले भने ।
कार्यालय मातहत रहेका बिभिन्न चौकी र अस्थायी प्रहरी पोष्टमा कम्पाउण्ड लगाउने काम समेत भएको बताइएको छ । ‘मेरै कार्यकालमा चित्रेपोखरी र लाप्राकमा अस्थायी प्रहरी पोष्टका लागी भवन प्राप्त भयो, पानपा ८ धुवाकोट र बारपाक सुलिकोट–४ घुन्चोकटारमा अस्थायी प्रहरी पोष्ट पनि स्थापना गरियो । भुम्लिचोक प्रहरी चौकीको भवन स्थानान्तरण पनि भयो ।
माछिखोला प्रहरी चौकीको भने नयाँ भवन बन्दै छ,’ एसपी श्रेष्ठले भने । आफ्नै कार्यकालमा सिरानचोक गाउँपालिकाले प्रहरी चौकी छोप्राक र अस्थायी प्रहरी पोष्ट धारापानीलाई मोटरसाइकल उपलब्ध गराएको उनले बताए । नागरिकको गुनासो र सुझाव संकलनका लागी क्यू आर कोडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए । एसपी श्रेष्ठको प्रहरी प्रधान कार्यालय सरुवा भएको छ भने जिल्ला प्रहरी प्रमुखको रुपमा बासुदेव पाठक आउने भएका छन् ।




