
हरि उत्कृष्ट प्रतिभा पुरस्कार सुरेशकुमार भट्टलाई
हरेक वर्षहरुमा जस्तै यो वर्ष पनि हरि साँस्कृतिक केन्द्र गोरखाले उत्कृष्ठ प्रतिभा पुरस्कार वितरण गरेको छ । यसबर्ष भीमसेनथापा गाउँपालिका घर भई हाल अमेरिका निबासी सुरेशकुमार भट्टलाई सो प्रतिभा पुरस्कार प्रदान गरेको छ । बुधबार गोरखा सदरमुकाममा सम्पन्न समारोहका बीच भट्टद्वारा प्रकाशित सोलीडोली लोककाव्यलाई बर्ष २०७९ को प्रतिभा पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ ।
हरि सांस्कृतिक केन्द्रनो स्थापना दिवसको अवसरमा उत्कृष्ठ प्रतिभा पुरस्कार पनि प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट प्रज्ञा प्रीतष्ठानका उपकुलपति गोविन्दराज विनोदीले कवि भट्टलाई पुरस्कार प्रदान गरेका थिए । भट्टलाई लोकसाहित्यको श्रीवृद्धिमा नगद २५ हजार र प्रमाण पत्रले सम्मान गरिएको हरि सांस्कृतिक केन्द्र गोरखाका सचिव सुनील अर्यालले जानकारी दिए ।
गोरखामा जन्मेर गोरखामै रहेर साहित्य सिर्जना गरेका, देशका विभिन्न ठाउँमा जन्मेर गोरखाका विषयमा कृति प्रकाशन गरेका तथा गोरखामा जन्मेर विश्वका कुनै पनि ठाउँमा बसोबास गरी काव्य प्रकाशन गरेका साहित्यकारहरुलाई सो केन्द्रले उत्कृष्ठ प्रतिभा पुरस्कार प्रदान गर्ने सचिव अर्यालले जानकारी दिए ।
केन्दले बुधबारै आफ्नो स्थापनाको ३४ औं वार्षिकउत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । बुधबार श्रीपञ्चमीको अवसर पारेर केन्द्रले विभिन्न लोक साहित्यको विमोचन गरेर आफ्नो स्थापना दिवस मनाएको छ । प्रमुख अतिथि गैडाकोट प्रज्ञा प्रीतष्ठानका उपकुलपति गोविन्दराज विनोदीले दुईवटा पुस्तक लोकार्पण गरेका हुन् । केन्द्रका अध्यक्ष प्रभादेवी कैनी देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्रष्टा सम्मान, कृति लोकार्पण, रचना वाचन र पुरस्कार वितरण लगायतका कार्यक्रमहरु भएका थिए । हरि सांस्कृतिक केन्द्रको मुखपत्र आवर्तन र शान्ता भट्ट देवकोटाको उन्मुक्त मन कविता संग्रहको विमोचन गरिएको हो ।
साथैै, दिवसकै अवसर पारेर केन्द्रले जिल्लाका माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न गरेको थियो । वक्तृत्वकलामा युनाइटेड इङ्लिस बोर्डिङ स्कुलकी साधना थापा मगर प्रथम भएकी आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा जनता मावि आँपपिपलकी मन्दिरा भुजेल द्वितीय र मिरकोट माविकी आस्था पाण्डे तृतीय बनेकी थिइन् । यसैगरी मण्डली माविकी सृष्टि धिताल र महेन्द्र लीला माविकी सिजन ढकाल सान्त्वना भएका थिए ।
बिजेता विद्यार्थीहरुले क्रमश ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको केन्द्रका सचिव अर्यालले जानकारी दिए । साहित्य र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले २०४६ सालमा संस्थापना भएको संस्थाले अहिलेसम्म साहित्यको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । कार्यक्रममा साहित्यप्रेमीहरुको सहभागिता रहेको थियो ।




