
डिभिजन वन कार्यालय अब भू तथा जलाधार कार्यालयको भवनमा सर्ने
डिभिजन वन कार्यालयले नयाँ भवनबाट सेवा दिने भएको छ । गोरखा नगरपालिका–९ दलभन्ज्याङमा हाल रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा कार्यालय सर्न लागेको हो । भू तथा जलाधारको कार्यालय भने हाल डिभिजन वन कार्यालय रहेको भवनमा सर्ने बताइएको छ ।
गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट सो निर्णय भइसकेको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । ‘हाम्रो अहिलेको कार्यालय भवन साँघुरो हुदाँ सेवाग्राहीको चाप अनुसार सेवा दिन असहज भयो । फेरी बरामद गरेर ल्याएका वस्तुहरुको भण्डारण गर्ने ठाउँमा पनि पर्याप्त भएन,’ उनले भने, ‘त्यसैले हामीले उचित व्यवस्थापन गरिदिनुप¥यो भनेर मन्त्रालयलाई आग्रह गरेका थियौँ, त्यही आधारमा मन्त्रालयले निर्णय गरेको हो ।’
भवनको आवश्यक मर्मत गरी फागुन महिनाभित्र सरिसक्ने पौडेलले जानकारी दिए । सो ठाउँमा कार्यालय सरेपछि सेवाग्राहीलाई पनि आउजाउमा सहज हुने उनको अपेक्षा छ । साथै कार्यालयले बरामद गरेका अवैध वस्तुहरु भण्डारण र सेवा प्रवाहमा समेत सहज हुने बताइएको छ ।




