| मङ्लबार, कार्तिक २४, २०८३

दरौँदी भन्छः पानीको महशुल तिरेनन्, साना सहरी भन्छः न पर्याप्त पानी दिन्छ, न बिल पठाउँछ

गोरखा नगरपालिका ३, ४, ५, ६, ७ र ८ का उपभोक्तालाई पानी उपलब्ध गराउने गरी निर्माण भएको दरौँदी लिफ्टििङ खानेपानी तथा सरसफाइ आयोजना गत बर्षको चैतमा निर्माण सम्पन्न भएको छ । २२ वटा स्थानीय उपभोक्ता समितिहरुलाई पानी उपलब्ध गराउने गरी ‘माउ आयोजना’का रुपमा निर्माण भएको सो आयोजनाले ६ वटा उपभोक्ता समितिहरुलाई बिगत दुई महिनादेखि पानी उपलब्ध गराउँदै आएको छ ।

पहिलो चरणमा ६ वटा उपभोक्ता समितिलाई पानी उपलब्ध गराए पनि महशुल भने नपाएको आयोजनाको गुनासो छ । ‘विद्युत महशुल तिर्नुपर्छ, क्लोरिन प्रयोग गरिएको छ त्यसको बिल तिर्नुपर्छ । कर्मचारी खर्च, कार्यालय खर्च उठ्छ’, आयोजना प्रमुख नरेश रेग्मी भन्छन्, ‘पानी लिन्छन्, महशुल तिर्दैनन् । २०७८ माघमा आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको हो । त्यसको एक बर्ष त कन्ट्रयाक्टरले सञ्चालन गरेको हो ।

निर्माण सम्पन्न भएको पनि दोस्रो बर्ष लागिसक्यो, तर न समितिले आयोजनाको स्वामित्व लिन पनि तयार न नगरपालिकाले पानीको महशुल निर्धारण गर्छ ।’ राज्यको ढुकुटीबाट ४३ करोड रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न भएको आयोजनालाई सबैले बेवास्ता गरेर अलपत्र पारिरहेको आयोजना प्रमुख रेग्मीको आरोप छ । ‘निर्माण हामीले गरे पनि स्वामित्व लिएर उपभोक्ता समितिले सञ्चालन गर्ने हो’, उनी भन्छन्, ‘तर सञ्चालनका लागि कसैले पनि अग्रसरता लिएनन् । पानी पनि दिउँ कि नदिउँ झैँ भइरहेको छ ।’

सो आयोजनाको पानी बिगत दुई महिनादेखि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कर्णेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, तीनचापे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पोखराथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, तीनधारे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र जुँगेपानी आहाले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोग गरिरहेका छन् । महशुल कसैले पनि नतिरेको आयोजनाको भनाइ छ ।

तर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको गुनासो भने फरक छ । सो आयोजनाले महशुल निर्धारण पनि नगरेका, बिल पनि नपठाएको, पानी पनि पर्याप्त नदिएको संस्थाकी अध्यक्ष सीता खड्काको भनाइ छ । ‘राज्य कोषको आधा अर्ब खर्च गरेर बनेको आयोजना हो, तर अस्तब्यस्त छ’, खड्का भन्छिन्, ‘समितिहरुलाई पानी दिइरहेको भन्छ, तर हप्तामा जम्मा दुई दिन दिन्छ, त्यही पनि एकदम सानो । त्यसको पनि दररेट कायम गरेको छैन । बिलै नपाई कसरी पैसा तिर्ने ? मेयरसाबसंग पनि यस विषयमा गुनासो गरेको हो । तर कसैले पनि चासो दिँदैनन् ।’ आयोजना नै असफल हुने हो कि भन्ने चिन्ता उनले व्यक्त गरिन् ।

आरोपहरु साँचो नै रहेको दरौँदी वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विनोद अर्यालको भनाइ छ । ‘साना सहरीको आरोप पनि ठिकै हो, आयोजना कार्यालयको भनाइ पनि ठिकै हो’, अर्याल भन्छन्, ‘हामीले पनि विभिन्न चरणमा मेयरसावसंग कुराकानी गरिरहेका छौँ । अब महशुल पनि निर्धारण हुन्छ । पानी सानो आएको ठाउँमा ठूलो पनि पक्कै आउँछ । अहिले फूलफेजमा पानी नआएर दिन नसकेको हो । अब दिन्छौँ ।’

आयोजनाको काम अधुरो भएकाले स्वामित्व लिन नसकेको उनको भनाइ छ । ‘२२ वटा समितिलाई पानी दिने भनेर काम सुरु भएको हो । अहिले पहिलो चरणमा संरचना निर्माण भएका जम्मा ६ वटालाई मात्र पानी दिएका छौँ । दोस्रो चरणको योजना पूरा भएको छैन । अरु १६ वटा समितिले पनि खोजे भने के दिने ? त्यसैले अधुरो योजना हामीले जिम्मा लिन नसकेको हो ।’ दोस्रो चरणको कामका लागि स्रोत सुनिश्चित गर्ने काम सरकारको भएकाले त्यतातर्फ सबैको पहलको खाँचो रहेको उनको भनाइ छ ।
‘फेस सेभ’ गर्ने आ–आफ्नै तर्क, बितर्क भए पनि एकातिर उपभोक्ताले पर्याप्त पानी पाउन सकेका छैनन् भने अर्कातिर राज्य कोषको करोडौँ खर्च गरेर बनेको आयोजना असफल हुन्छ कि भन्ने उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्