| बुधबार, कार्तिक २५, २०८३

गोनपाभित्रका योजनाबारे एमालेद्धारा नगरपालिकाको ध्यानाकर्षण

गोरखा नगरपालिकाभित्र संचालित योजनाको बारेमा नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सोमवार नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै खानेपानी, सडक, सिंचाइ, शिक्षा लगायतको बिषयमा ध्यानाकर्षण गराएको हो ।

नगरपालिकाको खानेपानी बोर्डमा दुई दलिय भागवण्डा गरि पिउने पानीमा राजनीतिकरण गरेको, बिरिमकाली खानेपानी परियोजना अवरुद्ध भएको र फिनाममा एक घर एक धारा परियोजना अवरुद्ध भएको बिषयमा ध्यानाकर्षण गराइएको एमाले केन्द्रीय कमिटी सदस्य सम्झना देवकोटाले बताइन् ।

नगर क्षेत्रको सडक बत्ति र सवारी पार्किङलाई व्यवस्थित गर्न आग्रह गरिएको उनले जानकारी दिइन् । अस्थायी शिक्षक छनौटको अधिकार स्थानिय विद्यालय र विद्यालय व्यवस्थापन समितिलाई दिनुपर्ने उनीहरुको माग छ । बिद्यालयमा दिवा खाजा स्वस्थकर नभएको भन्दै उनीहरुले त्यसतर्फ पनि नगरपालिकाको ध्यान केन्द्रित गराएका छन् ।

गोरखा नगरपालिका वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू भएको रोजगार तथा पूर्वाधार कार्यक्रमको विवाद प्रति ध्यान केन्द्रित भएको जनाउँदै उनीहरुले पारदर्शी हुने गरी योजना कार्यान्वयन गर्न आग्रह गरेका छन् । नगरपालिकामा भएका बेरुजुको असुल उपुर, वडा नम्वर ७ मा निर्माण भएको बसपार्कको प्रयोग लगायतका बिषयमा पनि उनीहरुले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्