
गोरखा नगर कार्यपालिका बैठकः खानेपानी बोर्ड गठन, फागुन १७ गते नगरसभा गरिने
राजनीतिक भागवण्डा नमिलेका कारण गठन हुन नसकेको गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले पूर्णता पाउने भएको छ । आइतवार बसेको नगरकार्यपालिका बैठकले सदस्यहरुमा सहमति जुटाउँदै बोर्ड गठन गरेको हो ।
नगर क्षेत्रको खानेपानी तथा सरसफाइ व्यवस्थापनका लागि भन्दै नगरपालिकाले जारी गरेको ‘खानेपानी तथा सरसफाइ ऐन २०८०’ गत असार १० गतेको बाह्रौँ नगरसभाबाट स्वीकृत भएर साउन १० गतेबाट लागू भएको थियो । ऐनले तोकेको कार्यसम्पादनका लागि बोर्ड गठन गर्नुपर्ने भएपनि राजनीतिक भगवण्डा नमिल्दा विगत सात महिनादेखि हुन सकेको थिएन । अन्ततः आइतवारको कार्यपालिका बैठकले सदस्यहरुको टुंगो लगाउदै सबैको सहमतिमा बोर्ड गठन गरेको छ ।
नौ सदस्यमध्ये पाँच जना कांग्रेस र बाँकी माओवादीको रहने सहमति भएको नगर उपप्रमुख मसलीमाया थोकरले बताइन् । ‘कार्यपालिका बैठकमा खानेपानी बोर्डमा प्रतिनिधित्वका विषयमा सहमति जुट्यो, अब गठन हुनेछ’, उनले भनिन्, ‘हामीले कार्यपालिका सदस्यमा हाम्रो बहुमत भएकाले कांग्रेसका पाँच जना सदस्य हुनुपर्छ भन्दै आएका थियौ । माओवादीले पनि मेयर हाम्रो पार्टीको भएकाले पाँच जना सदस्य आफ्नै हुनुपर्छ भन्दै आएका थिए । त्यही बिषयमा सहमति नभएर बोर्ड गठन हुन सकेको थिएन ।’ बोर्ड गठनमा भागवण्डा नमिलेकै कारण विगत तीन महिनादेखि पटक पटक बसेको कार्यपालिका बैठकमा प्रवेश भएका एजेण्डामा छलफल भएपनि निर्णय हुन सकेको थिएन ।
ऐन अनुसार नगर प्रमुखको अध्यक्षतामा गठन हुने बोर्डमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाले तोकेको तीन जना वडाध्यक्ष, खानेपानी तथा सरसफाई क्षेत्रमा कार्य गरेका व्यक्ति, जग्गादाता, उपभोक्ताहरु मध्येबाट नगर प्रमुखले मनोनित गरेको एकजना महिलासहित दुई जना सदस्य रहने व्यवस्था छ ।
मनोनित हुने तीन जना वडाध्यक्षको बिषयमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुदैँ आएको थियो । दुवै पक्षले सदस्यमा आफ्नो पार्टी निकट दुई जना वडाध्यक्ष मनोनित हुनुपर्ने दावी गर्दै आएका थिए । तर आइतवार कांग्रेस निकट दुई जना वडाध्यक्ष मनोनित गर्ने कुरामा सहमति जुटेपछि बोर्ड गठन भएको बताइएको छ ।
आइतवारको बैठकले फागुन १७ गते नगर सभा गर्ने निर्णय समेत गरेको छ । स्थानीय सरकार संचालन ऐन अनुसार पुस मसान्तभित्रै नगर सभा गर्नुपर्ने थियो । जिल्लाका अन्य स्थानीय तहले सम्पन्न गरेपनि नगरपालिकाले भने नगर सभा गर्न सकेको थिएन । कार्यपालिका बैठकमा एजेण्डा प्रवेश गर्न नपाउँदै खानेपानी बोर्ड गठन बिषयमा विवाद हुने र विना निष्कर्ष बैठक टुंगिने गरेको थियो । तर आइतवारको नगर सभाले खानेपानी बोर्ड गठनको विवाद टुंगाएर नगरसभा गर्ने निर्णय पनि गरेको हो । ‘आइतवार २४ वटा एजेण्डामा छलफल गरेर निर्णय ग¥यौ, अझै करिव १५ वटा एजेण्डा छन्, त्यसका लागी भोली बिहान ११ बजेलाई फेरी कार्यपालिका बैठक बोलाइएको छ,’ उपप्रमुख थोकरले बताइन् । उनका अनुसार आइतवारको बैठकले करारका कर्मचारीको म्याद थप गर्ने निर्णय समेत गरेको छ । पुष महिनामा उनीहरुको करार अवधि सकिएपनि कार्यपालिका बैठक बस्न नसक्दा थप हुन सकेको थिएन ।




