| मङ्लबार, कार्तिक २४, २०८३

जिप्रकालाई आगलागी नियन्त्रक सामग्री सहयोग

जिल्ला प्रहरी कार्यालय गोरखालाई आगलागी नियन्त्रक सामग्री सहयोग गरिएको छ । सहमती नामक संस्थाले चार थान आगो निभाउने मेसिन र एक थान आगो नियन्त्रक ब्याग सहयोग गरेको हो । शुक्रवार एक कार्यक्रमका बीच संस्थाका परियोजना संयोजक शिव सुवेदीले जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

आगलागीजन्य घटनामा आगो नियन्त्रण सँगै उद्धारमा सहयोग पुग्ने अपेक्षाले सामग्री वितरण गरिएको सुवेदीले बताए ।
‘हरेक पालिका र जिल्ला स्तरको कार्यालयहरुमा विपद व्यवस्थापनका सामग्री हुनुपर्ने ऐनमा उल्लेख छ,’ उनले भने, ‘तर जिल्ला प्रहरी कार्यलयमै उक्त सामाग्रीहरु नभएको थाहा पाएपछि हामीले सहयोग गरेका हौ ।’

हरेक पालिका र जिल्ला स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपि) बनाउनुपर्ने भएपनि गोरखाको हकमा सहिदलखन गाउँपालिकाले मात्र त्यो लागु गरेको उनले जानकारी दिए । डिपिआरपि बनाएर कार्यान्वयन गर्दा पालिकाहरुको स्वःमूल्याङ्कनमा एक अंक थपिने उनको भनाई छ ।

संस्थाले सहिदलखन गाउँपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अन्र्तगत काम गरिरहेको छ । पालिकाको सबै प्रहरी कार्यालय र पालुङटार नगरपालिका वडा नं ८ मा विपद व्यवस्थापन सामाग्री वितरण गरिएको संयोजक सुबेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्