| मङ्लबार, कार्तिक २४, २०८३

अजिरकोटमा किसान लक्षित व्यवसायिक भैसीपालन तालिम र गोठ एवं खोर सुधार कार्यक्रम संचालन

अजिरकोट गाउँपालिकाले कृषक लक्षित बिभिन्न कार्यक्रम संचालन गरेको छ । यही माघ २१ गतेदेखि २३ सम्म व्यवसायिक भैसी पालन सम्बन्धि तालिम संचालन गरिएको पशु शाखा प्रमुख डा. रोशनराज बहादुर सिंह ठकुरीले बताए । तीन दिनसम्म चलेको तालिममा प्रत्येक वडाका गरी कुल २३ जना व्यवसायिक भैसी पालक किसानहरु सहभागी थिए ।

उनीहरुलाई नश्ल गुणस्तर पहिचान गर्ने विधि, पशुचौपायका लागी आवश्यक सन्तुलित आहार बनाउने तरिका लगायतका बारेमा जानकारी गराइएको थियो । तालिममा सहभागी प्रत्येक किसानलाई दश र बाह्र लिटर क्षमताको दुध बोक्ने क्यान, मिनिरल पाउडर र भिटामिन वितरण गरिएको पशु शाखा प्रमुख ठकुरीले जानकारी दिए । ‘मिनिरल पाउडरले भैसीहरुमा हुने बाँझोपन हटाउनुका साथै दुध उत्पादन बढाउन पनि सहयोग पु¥याउछ,’ उनले भने ।

उनका अनुसार दुई वटा वडामा भकारो तथा गोठ र खोर सुधार कार्यक्रम पनि लागू भइरहेको छ । वडा नम्वर १ र २ मा उक्त कार्यक्रम लागू भएको बताइएको छ । ‘वडा नम्वर १ मा दश जना किसानले गोठ सुधार कार्यक्रम लागू गरिरहनु भएको छ,’ उनले भने, ‘वडा नम्वर २ मा भने दश जना किसानले गोठ सुधार र दश जना किसानकोमा खोर सुधार कार्यक्रम लागू भएको छ ।’ गोठ सुधार कार्यक्रम अन्तरगत गोठ मर्मत वा नयाँ निर्माणका लागी प्रति किसान ४० हजार रकम उपलब्ध गराइएको ठकुरीले बताए ।

त्यस्तै खोर सुधार कार्यक्रम अन्तरगत किसानहरुलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको उनले जानकारी दिए । ‘५० प्रतिशत अनुदानको कार्यक्रम हो, हामीले जति रकम किसानलाई दिएका छौ त्यति रकम उनीहरुले थपेर गोठ तथा खोर सुधारको काम गर्नुपर्छ,’ उनले भने । कार्यक्रम लागू गर्नका लागी किसानहरुसँग आवेदन माग गरिएको थियो । किसानले दिएको निवेदनको आधारमा स्थलगत निरिक्षण गरी आवश्यकताको आधारमा कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

‘गोठ सुधार र खोर सुधार कार्यविधि छ त्यही अनुसार हामीले किसानहरु छनोट गर्छाै, वडास्तरबाटै बजेट विनियोजन भएर यी कार्यक्रमहरु संचालन भएका हुन्,’ पुश शाखा प्रमुख ठुकरीले भने । बाँकी वडाहरुमा पनि यो कार्यक्रम संचालन हुने उनले जानकारी दिए । बाख्रा पालनसम्बन्धी तालिम पनि संचालन गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्