
ज्यान मार्न खोजेको आरोपमा पक्राउ परेका नेपाली बिरुद्ध मुद्दा दर्ता
ज्यान मार्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ । सिरानचोक गाउँपालिका वडा नम्वर ६ मुसेखोला निवासी ३५ बर्षका गाजले भन्ने सन्तोष नेपालीबिरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शेखर खड्का अनुसार नेपालीले आइतवार बेलुकी सोही स्थानका ४७ बर्षीय इन्द्रबहादुर बिकलाई ज्यान मार्ने नियतले टाउकोमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
नेपालीलाई सोही दिन पक्राउ गरी सोमवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइते बिकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता पालुङटार नगरपालिका–८ लामाचौरका महेश भनिने समशेरबाबु पन्तको हत्या आरोपमा पक्राउ परेकाहरु पुर्पक्षका लागी कारागार चलान भएका छन् । सोमवार गोरखा जिल्ला अदालतको आदेशले हत्याका आरोपीहरु गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार र उनका भिनाजु गोनपा–११ का निलबहादुर परियारलाई कारागार चलान गरिएको हो ।
‘हत्या गर्ने किसान भइहाल्यो, उसको भिनाजु निलबहादुरले भने घटना पश्चात मृतकको मोवाइल टुक्रा टुक्रा पारी खाल्डोलमा पुरेर सवुद प्रमाण नष्ट गर्न खोजेको र अभियुक्तलाई समेत भगाउन खोजेको अनुसन्धानबाट खुल्न आएकाले उनलाई पनि पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘किसानलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश दियो, निलबहादुरलाई एक लाख धरौटीमा छाड्ने भन्ने थियो धरौटी दाखिला गर्न नसकेपछि उसलाई पनि कारागार चलान गरिएको हो ।’




