| मङ्लबार, कार्तिक २४, २०८३

प्रेस चौतारीको २६ औँ स्थापना दिवस मनाइयो


प्रेस चौतारी नेपाल गोरखा शाखाले आफ्नो २६ औँ स्थापना दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । सो संगठनले सोमबार पालुङटार नगरपालिकाको सभाहलमा स्थानीय सरकार र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।


स्थानीय सरकारले स्थानीय मिडिया र पत्रकारितालाई प्रबद्र्धन गर्नुपर्नेमा सो कार्यक्रममा जोड दिइएको थियो ।


पत्रकारितालाई संरक्षण गर्नु सरकारको कर्तव्यभित्र पर्ने चौतारीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इञ्चार्ज किरण लोहनीद्वारा प्रस्तुत गरिएको अवधारणापत्रमा उल्लेख गरिएको थियो । राजधानीबाट प्रकाशित, प्रशारित मिडियाहरुले सबै प्रदेश र स्थानीय तहका समाचार समेट्न नसक्ने हुँदा स्थानीय तहको समाचार प्रकाशन र प्रशारण गर्न स्थानीय मिडियाहरुले भूमिका खेलिरहेको सो अवधारणापत्रमा उल्लेख थियो । स्थानीय मिडियाहरुले स्थानीय तहको मौलिकतालाई प्रबद्र्धन गर्ने बताउँदै पत्रकार लोहनीले स्थानीय सरकारले मिडियाहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए । चालु आर्थिक वर्ष जिल्लाका स्थानीय सरकारहरुले सूचना प्रकाशन र प्रशारणका लागि भनी कुल बजेटको ०.५ प्रतिशत रकम मात्र विनियोजन गरेको उनले बताए ।


अन्तरक्रियामा पालुङ्टार नगरपालिकाका प्रमुख विवश चिन्तनले मिडिया क्षेत्रमा विनियोजित ६० प्रतिशत रकम जिल्ला बाहिरको पत्रपत्रिकाहरुले भुक्तानी लिने गरेको बताए । उनले समग्र पत्रकारिता जगतले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले स्थानीय तहहरुसँग कम स्रोत साधन हुने भन्दै स्थानीय मिडियाहरु बीच नै अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताएकी थिइन्, साथै उनले मिडियाकर्मीहरु बीच आन्तरिक शुद्धिकरण आवश्यक रहेको बताएकी थिइन् ।


वर्तमान पत्रकारिताको प्रवृत्तिबारे पनि कार्यक्रममा छलफल भएको थियो । सकारात्मक सोच प्रवाह गर्न मिडियाको महत्वपूर्ण भूमिका रहेको अन्तरक्रियाका सहभागीहरुले बताएका थिए । जिल्लाको सबै स्थानीय तहहरुले जिल्लाभित्र क्रियाशील पत्र—पत्रिकाहरुलाई संरक्षण गर्नुपर्ने अन्तरक्रिमा बताइएको थियो ।


यस्तै खालको अन्तरक्रिया कार्यक्रम जिल्लाका सबै पालिकामा आवश्यक पर्ने भएकाले अन्यत्र पनि गरिने सो संगठनका केन्द्रीय सदस्य एवं गोरखा शाखाका इन्चार्ज किरण लोहनीले जानकारी दिए ।


प्रेस चौतारी नेपाल गोरखा शाखाका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य किरण लोहनी, पानपाका प्रमुख विवस चिन्तन, उप प्रमुख बन्दना पाण्डे, पानपाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल, प्रेस युनियनकी उपाध्यक्ष मेलिना बराम, प्रेस सेण्टरका उपाध्यक्ष राजेश पौडेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्