| मङ्लबार, कार्तिक २४, २०८३

जहाँ माछा मरेपछि पुजारीले काजकिरिया गर्छन्

शिव उप्रेती :


कतिपय जलचर, थलचर, पशुपंक्षीलाई देवदेवीको प्रतिमूति मान्ने र पूजाआजा गर्ने हिन्दू धर्मावम्बीको सनातनी परम्परा हो । वुद्ध धर्मसंग निकट बोन धर्मावलम्बीले पनि प्रकृतिको पूजा गर्छन् । आकास, पाताल, जून, घाम, जल, जमिन, जंगललाई पूजा गर्ने हिन्दूहरु गाई, गोरु, कुकुरलाई मात्र होइन, माछालाई पनि देवदेवी मानेर पूजा गर्नेगर्छन् ।

गण्डकी प्रदेशको तनहुँस्थित छाब्दीबराह, आँधिमुल लगायतका देवस्थलमा भक्तजनहरु माछाको पूजा गर्ने गर्छन् । जीवित माछाको पूजा मात्र होइन, माछा म¥यो भने विधिवत रुपमा अन्त्येष्टि पनि गर्ने गर्छन् । आँबुखैरेनी गाउँपालिका १ स्थित आँधिमुलमा मगर समुदायका पुजारी हुन्छन् । अरु लिखतमा ‘आँधिमुल’ भने पनि यहाँका पुजारीहरु ‘आँडिमुल’ भन्ने गर्छन् ।
आँधिमुलका ठूला तीनवटा पोखरीमा विभिन्न जातका माछाहरु छन् । भक्तजनहरु आँधिमुल देवीको पूजाआजा गरेपछि पोखरीका माछाको पूजा गर्ने, आहारा दिने गर्छन् ।

थंकदाचित माछा म¥यो भने मूल पुजारीले विधिवत रुपमा अन्तिम संस्कार गर्ने, काजकिरिया गर्ने र जुठो बार्ने मन्दिरका पुजारी युवराज मास्की मगरको भनाइ छ । ‘हाम्रा पितापुर्खाको पालादेखिकै यस्तै चलन हो’, पुजारी युवराज मास्की भन्छन्, ‘माछा म¥यो भने त्यसलाई पोखरी आसपास अन्त्यष्टि गर्ने ठाउँमा खाडल खनेर गाड्छौँ । त्यसदिन खाना नखाई जुठो बार्छौँ ।’ जुठो बारेका दिन कसैलाई पनि नछुने, खाना पनि नखाने, कुनै काम पनि नगर्ने उनले बताए ।

जुठो बारेको दिनमा आँधिमुलमा नियमित पूजा लाग्दैन । ‘माछा मरेको दिन पुजारीले जुठो बार्छन् । त्यो दिनमा आँधिमुलमा पुजारीले नियमित पूजा गर्दैनन्’, स्थानीय डिपी अधिकारी भन्छन्, ‘टाढा टाढाबाट आएका भक्तजनहरु फर्कनु नपरोस् भनेर त्यो दिनमा अरु कोही पुजारीले मन्दिरमा पूजाआजाको काम चलाउँछन् ।’

मन्दिरमा धेरै टाढाटाढादेखि खासखास तिथि तथा पर्वमा फूलकोडोली ल्याउने परम्परा पनि रहेको अधिकारीको भनाइ छ ।
आँधिमुल देवीको पूजाआजाका लागि अहिले धेरै टाढाका विभिन्न जिल्लादेखि भक्तजनहरु आउने गर्छन् । आँधिमुलको विकास गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारले पनि सहयोग गरिरहेको छ । यसलाई पिकनिक स्पटका रुपमा विकास गर्न पूर्वाधारहरु निर्माण भएका छन् । तनहूँ, गोरखा, चितवन तथा विभिन्न जिल्लाबाट यहाँ पिकनिक आउने स्थानीयबासीको भनाइ छ ।

बस्तीबाट केही पर रहे पनि भक्तजनको चहलपहल बढ्न थालेपछि यहाँ रेस्टुरेण्ट, स्वीमिङ पुलहरु पनि बनेका छन् ।
किंवदन्ती विभिन्न भए पनि यो मन्दिरको स्थापना वि.सं. १९६५ देखि भएको अभिलेख पाइन्छ । मगर समुदायको बाक्लो बस्ती रहेको यहाँ मन्दिर स्थापनाका बेलादेखि मगर पुजारी भएकाले अहिलेसम्म पनि पुजारी मगर समुदायकै छन् ।

प्रतिक्रिया दिनुहोस्