| मङ्लबार, कार्तिक २४, २०८३

नेपाली कांग्रेस गोरखाले मनायो सहिद दिवस

वर्तमान सरकारले सार्वजनिक विदासमेत कटौती गरेर अवमूल्यान गरेको सहिद दिवस सत्तारुढ दल नेपाली कांग्रेसले भने जिल्ला जिल्लामा मनाएको छ ।

१०४ बर्षे जहानियाँ निरंकुश राणा शासन अन्त्य गरी २००७ सालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेको कांग्रेसले सो बेला प्रजातन्त्र ल्याउन जीवन आहुति दिने सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाएको हो ।

कांग्रेस गोरखाले सहिद दिवसका दिन बिहान गोरखा अस्पतालका विरामीहरुलाई फलफूल र पोसिलो खानेकुरा वितरण गरेको छ । त्यस्तै सोही अवसरमा कांग्रेस गोरखाले गोरखा दरवार परिसरमा सरसफाइ कार्यक्रमको पनि आयोजना गरेको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए ।

‘नेपाल बिद्यार्थी संघको आयोजनामा फलफूल वितरण भएको हो’, उनले भने, ‘कुल ३२ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरिएको थियो ।’

त्यस्तै बिहान सदरमुकामको पुरानो बसपार्कमा रहेको श्यामसुन्दर श्रेष्ठको शालिकमा माल्र्यापण समेत गरिएको उनले जानकारी दिए । श्रेष्ठले २०५५ सालमा माओवादी जनयुद्धका सिलसिलामा सहादत पाएका थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेश महामन्त्री एवं राष्टिूय सभा सदस्य किरणबाबु श्रेष्ठ, पार्टी जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सहिद दिवसकै अवसर पारेर कांग्रेस गोरखाले साताव्यापी समुदायसंग कांग्रेस अभियानको विधिवत आरम्भ गरेको छ । सोमबार बसेको पूर्ण बैठकले नौ वटा पालिकाका ८० वटा वडामा कम्तीमा एउटा वडामा एक साता बसेर काम गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा ग्रामीण समुदायमा विद्यमान समस्या पहिचान गरी समाधानको पहल गर्ने, समुदायको यथार्थ अवस्था बुझेर राज्यको ध्यानाकर्षण गराउने लगायतका निर्णय भएको कांग्रेस गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्