
सुन्तला जोन कार्यक्रम लागु भएको गोरखामा सुन्तला उत्पादन घट्यो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन कार्यक्रम लागु भएको गोरखामा यस बर्ष सुन्तला उत्पादन घटेको छ । गत बर्षको तुलनामा करिव तीन सय मेट्रिक टन कम उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई गोरखाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत बर्ष १९ सय मेट्रिक टन उत्पादन भएको थियो । तर यो बर्ष १६ सय मेट्रिक टन मात्र उत्पादन भएको छ ।
उत्पादन घटे पनि आर्थिक कारोवारमा भने धेरै भिन्नता नरहेको कार्यालयका सूचना अधिकारी रविन्द्र पौडेलले बताए । ‘यो बर्ष करिव ६ करोडको कारोवार भयो, गत बर्ष साढेँ ६ करोड थियो,’ उनले भने, ‘यो बर्ष मूल्य बढेकाले उत्पादन घटे पनि आर्थिक कारोवारमा खासै धेरै भिन्नता देखिएन ।’ यो बर्ष किसानहरुले प्रतिकेजी ६५ देखि १२० रुपैयासम्म सुन्तला बिक्री गरेका छन् ।
परियोजना कार्यान्वयन एकाईले गोरखाका गण्डकी गाउँपालिकाका सबै वडा, सहिद लखन गाउँपालिकाका सबै वडा, भीमसेनथापा गाउँपालिकाका सबै वडा, गोरखा नगरपालिकाका सबै वडा र पालुङटार नगरपालिकाका वडा नं. ९ र १० लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको छ ।
सुन्तला जोन कार्यक्रम लागु भइरहेको गण्डकी गाउँपालिका–२ ताङ्लीचोकस्थित सुन्तला उत्पादक कृषि सहकारी संस्थाले पनि यो बर्ष उत्पादन घटेको बताएको छ । सुन्तला बेचेर एक करोडको कारोवार गर्ने यस संस्थाले यो बर्ष ५२ लाख मात्र कारोवार गरेको छ । पुराना बोटहरु काटेर नयाँ बिरुवा लगाइएका कारण पनि यो बर्ष उत्पादन घटेको संस्थाका अध्यक्ष एकबहादुर थापाले बताए । ‘पुरानो बोट मासेर करिव दुई सय नयाँ बिरुवा लगाएका छौँ, त्यसमा फल्न थालेपछि उत्पादन बढ्छ,’ उनले भने ।
उत्पादन घट्नुमा बिविध कारण रहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘एक त बोटहरुमा लाग्ने रोग भइहाल्यो, अर्काे गाईवस्तुको मल पाउनै छाड्यो, फेरि हिउँदमा खडेरी परेका कारणले पनि सिंचाइको अभाव भयो । यी कारणहरुले उत्पादन घटेको हो ।’ पुरानो बगैचा व्यवस्थापनका लागि पुराना रुखहरु काटेकाले पनि उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।
उत्पादन बढाउन बगैचा व्यवस्थापन र चक्लावन्दी
सुन्तलाको उत्पादन बढाउन कार्यालयले पुरानो बगैचा व्यवस्थापन कार्यक्रम लागू गर्दै आएको छ । जस अन्तरगत सुक्ष्म तत्व, रोगनासक बिषादी, प्राङ्गारिक मल लगायतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख पूर्ण ढुंगानाले बताइन् । त्यस्तै पुराना बोट काटेर नयाँ रोप्नेलाई प्रति विरुवा एक सय रुपैयाका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।
‘नमूना बगैचा स्थापना कार्यक्रम पनि संचालन गर्दै आएका छौँ’, उनले भनिन्, ‘न्यूनतम दश रोपनी जग्गामा कम्तिमा दुई सय विरुवा सुन्तलाजात फलफुल (सुन्तला र कागती) रोप्ने किसानलाई बिरुवा र कृषि उपकरणमा ५० र सिंचाईमा ८५ प्रतिशत अनुदान दिदैँ आएका छौँ ।’ गत बर्ष जिल्लाको २३ वटा ठाउँमा नमूना वगैचा कार्यक्रम लागू भएको उनले बताइन् । उक्त कार्यक्रमका लागि १५ लाख रकम विनियोजन भएको थियो । यो बर्ष २१ लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।
चक्लावन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिइरहेको छ । गत बर्ष १२ ठाउँमा चक्लावन्दी कार्यक्रम लागू भएको कार्यालय प्रमुख ढुंगानाले बताइन् । ‘चक्लावन्दी गरेर सुन्तला, कागती र किवीको बिरुवा लगाइएको छ, किसानलाई बिरुवा र कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौँ,’ उनले भनिन् । गत बर्ष ८० लाख रकम विनियोजन भएको यस कार्यक्रमका लागि यो बर्ष ६० लाख विनियोजन भएको छ ।
सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र शहिद लखन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र शहीद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तिनमाने, अधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै भीमसेन थापाको तान्द्राङ, पालुङटारको बाघडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टवेशीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । जिल्लाको करिव ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको कार्यालयले जनाएको छ ।




