
म्याद गुज्रिएपछि ठेकेदारले हर्जना तिर्दै सडक टालटुल गर्दै
निर्धारित समयमा काम गर्न नसकेपछि ठेकेदारले गोरखा हरमटारीदेखि लक्ष्मी बजारसम्मको सडक हर्जना तिरेर टालटुल गर्न थालेका छन् । गत असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सो काम कपिल, देउ कन्सट्रक्शन जेभीले म्याद नाघेपछि अहिले कुल ठेक्का रकमको १० प्रतिशत हर्जाना तिर्दै धमाधम काम गर्न थालेको सडक डिभिजन कार्यलय दमौलीका सव–ईन्जिनियर दिपेन्द्र पन्थले जनाए ।
‘काम गत आर्थिक वर्षमै सक्नु पर्ने थियो’, उनले भने, ‘ठेकेदारलाई तुरुन्त काम सक्न भनेका छौँ । अब काम सम्पन्न भएपछि कुल ठेक्काको १० प्रतिशत पैसा जरिवानाको रुपमा काटिने छ ।’ टालटुलको काम अहिले सुरु गरे पनि पर्खाल निर्माण, नाला निर्माण, ग्याभिङ लगायतको कामहरु भने गत आर्थिकवर्षमा नै सम्पन्न भएको उनले बताए । तर, सडक टालटुलको काम भने सुरु नगर्दा लामो समयदेखि सडकको छेउकुना खाल्डो बनेर रहेको थियो ।
गोरखा आबुँखैरेनी सडक अन्र्तगत पर्ने सो आयोजनाको ७७ लाख ६३ हजारमा गत आर्थिक वर्ष ठेक्का सम्झौता भएको थियो । दमौली सडक आयोजना अन्तर्गत पर्ने सो सडकको मर्मत तथा टालटुल गर्ने जिम्मा कपिल, देउ कन्सट्रक्शन जेभीले लिएको थियो । कम्पनीका ठेकेदार केदार कँडेल भन्छन्, ‘पारिवारिक समस्याले गर्दा काम समयमा सम्पन्न हुन नसकेको हो । सडक डिभिजनले पनि बर्खाको बेलामा काम नगर्नू भनेकाले समयमा कम नभएको हो ।’
सडक पिचको काम करिब एक हप्तादेखि संचालन भइरहेको छ । अहिलेका लागि खाल्डा पुर्ने र मोडमा १ मिटर सडक बिस्तार र पिचको काम भइरहेको अर्का पेटी ठेकेदार सन्तोष शाह बताउँछन् । ‘मैले सडक पिचको जिम्मा लिएको हुँ’, उनले भने, ‘चैत मसान्तभित्र सक्ने गरी काम गरिरहेका छौँ ।’ शाहा आफुले सडक टालटुलको काम गर्ने भन्दै २२ लाखमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको बताउँछन् ।
यसअघि सडकको छेउकुना खनेर जोखिम बनाएको सडक अहिले मर्मतका लागि भन्दै लामो समयदेखि खाल्डो खनेर राख्दा सवारी चालकहरु भने जोखिममा परेका छन् । मर्मतका लागि भनी ओछ्याएका गिटीमाथि सवारी साधन चिप्लिने गरेको एक सवारी चालकले गुनासो गरे । ‘काम भाको राम्रो हो तर खाल्डो खनेर लामो समयसम्म राख्ने, ढुंगा, गिटी, बालुवा पनि लामो समयदेखि जथाभावी सडकमा पसारो पार्दा सवारी साधन चलाउन जोखिम भएको छ’, उनले भने, ‘उसै त सडक धेरै सानो छ त्येसैमाथि पोहरदेखि छेउछाउमा खाल्डो खनेर राखेको छ । फेरि अहिले जथाभावी सामग्री राखेर आवतजावतमा धेरै समस्या भइराखेको छ ।’
मुख्य बजार क्षेत्रमा सडकको अवस्था नाजुक हुँदा धेरै दुर्घटना हुने भएकाले सडक मर्मत गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले बताए । सोही अन्तर्गत नै गोरखा सदरमुकाम आसपास सडक मर्मतको काम भइरहेका छन् । सडक स्तरउन्नतिका लागि आबुँखैरेनी गोरखा सडकखण्ड अन्र्तगतको २४ किलोमिटर सडको नयाँ काम पनि आउँदो चैतबाट सुरुहुने पनि प्रमुख ज्ञवालीले बताए ।




