
प्रदेश सरकार समक्ष विभिन्न माग राख्दै चुमनुब्रीका जनप्रतिनिधि
हिमालपारिको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधिले गण्डकी प्रदेश सरकारलाई भेटी गाउँपालिकाको समग्र विकासका लागि विभिन्न माग राखेको छ ।
केहीदिनअघि गण्डकी प्रदेश राजधानी पोखरा पुगेका अध्यक्ष निमा लामासहित वडाअध्यक्षहरुले मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रीलाई भेटी समग्र विकासका लागि विभिन्न माग गरेको हो ।
जनप्रतिनिधिको टोलीले वडा नं. ५ को गुम्बाहिमाली आधारभूत विद्यालयको आवासीय भवन निर्माणको शीर्षक परिवर्तन गरी किचन भवन निर्माण गर्न माग गरेको छ । त्यस्तै वडा नं. ७ स्थित निले गुम्बाको जस्तापाता खरिद तथा ढुवानी शीर्षक परिमार्जन गरी निले लाकाङ गुम्बा भवन मर्मत तथा छाना छाउने कार्यक्रम बनाउन माग गरेका छन् । त्यस्तै टोलीले सोही वडाको छुलेनिले विद्यालय भवन निर्माणको शीर्षक परिमार्जन गरी मेतोफु, रोल्मिदेखि लोङटाङ जाने पदमार्ग निर्माण बनाउन माग गरेको छ ।
त्यस्तै वडा नं. १ सामागाउँदेखि पुङ्गेन जाने पदमार्ग निर्माण,े धर्मशालादेखि लार्केपास जाने पदमार्ग निर्माण, मानेखाङ गुम्बा व्यवस्थापनका लागि, घ्याबो खोला र बुर्सीखोलामा झोलुंगेपुल निर्माण, गौरीशंकर आवासीय भवन निर्माण गर्न बजेट तथा कार्यक्रम माग गरिएको छ ।
चुमनुब्री २ को नाब्रीदेखि घुङ्ली गण्डकी खोलामा, घुम्सुङ खोलामा र ल्हीदेखि लुकुङ जोड्ने झोलुंगे पुल निर्माण बजेट तथा कार्यक्रम माग गरिएको छ । त्यस्तै स्यालाको खेलमैदान घेराबार गर्न, सोही वडाको स्यो र ल्ही गाउँको बाटो पिसिसी गर्न, स्यालादेखि घाङनाङ हुदै पिक २९ बेसक्याम्पसम्म पदमार्ग निर्माण गर्न, स्योमा सामुदायिक भवन निर्माण गर्न, स्याला र ल्हो गाउँमा ढल व्यवस्थापन कार्यक्रम माग गरिएको छ ।
वडा नं. ३ को पाङसिङ छिहीदेखि रुकजुङ हुदै उदयजुङ नेडोल्मा पर्यटकीय पदमार्ग निर्माण, फिलिम गुम्बामा किचन निर्माण तथा पाती गाउँमा ढल निर्माणका लागि माग गरिएको छ ।
वडा नं. ४ को छाक क्वाक स्वास्थ्यचौकी भवन निर्माण, गापदेखि छाकसम्म पदमार्ग निर्माण गर्न, बजेट तथा कार्यक्रम माग गरिएको छ । त्यस्तै वडा नं. ५ (साविक बिही वडा नं. ४ देखि ९ सम्म)का लागि एक घर एक धारा निर्माण गर्न र गुम्बा हिमाली आधारभूत विद्यालयका लागि शिक्षक दरबन्दी माग गरिएको छ ।
वडा नं. ६ को कोज्योलखोला र उन्किलुङमा झोलुंगे पुल निर्माण गर्न, सोही वडाको गुम्बा लोङटाङदेखि गणेश हिमाल बेसक्याम्पसम्मको पदमार्ग निर्माण गर्न, चुम्लिङदेखि खांग्रिङसम्म पिसिसीबाटो निर्माणका लागि पनि बजेट तथा कार्यक्रम माग गरिएको छ । ताजु गाउँमा छाना छाउने योजना, पाङ्दो गुम्बा निर्माण र खार गाउँ स्वास्थ्य चौकी भवन र सिद्धगणेश आधारभूत विद्यालयको भवन र छात्रवास भवन निर्माणका लागि पनि कार्यक्रम माग गरिएको छ ।
वडा नं. ७ लागि वुद्ध आवासीय भवन निर्माण, छेकम प्राविमा घेरावार गर्न, खन्यूखोला झोलुङ्गे पुल निर्माण गर्न माग गरिएको छ । त्यस्तै जनप्रतिनिधिको प्रतिनिधिमण्डलले छेकमदेखि निलेसम्म पिसिसी बाटो निर्माण गर्न पनि बजेट तथा कार्यक्रम माग गरिएको छ ।




