| बुधबार, कार्तिक २५, २०८३

आँबुखैरेनी गाउँपालिकामा अब सामाजिक सुरक्षा कार्यक्रम

आबुँखैरेनी गाउँपालिका र सामाजिक सुरक्षा कोष बीच पालिकाभित्रको अनौपचारिक क्षेत्रका नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटी अघि बढ्ने सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक, स्वरोजगार नागरिक, किसान, मजदुर तथा आर्थिक रुपमा विपन्न समुदायका नागरिक लक्षित सो कार्यक्रमले उनीहरुलाई विभिन्न सुरक्षा योजना तथा सेवा सुविधा र पेन्सन दिने पालिकाले जनाएको छ ।

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार, पालिकाभित्रका असंगठित क्षेत्रमा काम गर्ने नागरिकहरुको भविष्य सुनिश्चित गर्नका लागि पालिकाले उक्त कार्यक्रम ल्याएको हो । नेपाल सरकार सामाजिक सुरक्षा कोष अन्तर्गतको सो कार्यक्रममा पालिका सरकारले केही रकम योगदान गर्ने अध्यक्ष चुमानले बताए ।

‘कार्यक्रम अन्तर्गत लक्षित समुदायको प्रतिमहिनाको आम्दानीको पालिकाले ९ प्रतिशत र लक्षित समुदाय आफुले ११ प्रतिशत गरी जम्मा २० प्रतिशत रकम जम्मा गरिने छ’, उनले भने, ‘यसरी जम्मा गरिएको रकम उनीहरु ६० वर्ष नाघेपछि प्रत्येक महिना पेन्सनका रुपमा पाउँछन् ।’ योगदानकर्ताको अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क, रकम जम्मा गर्न थालेको तीन वर्ष पूरा भएपछि बीचमा रकम चाहिएको खण्डमा सापटी पाइने लगायतका सुबिधाहरु उपलब्ध हुने उनले बताए ।

कार्यक्रमको प्रारम्भिक चरणमा अति विपन्न समुदाय र कृषि पेशामा आबद्ध र मासिक रु १० हजार भन्दा थोरै आम्दानी गर्ने नागरिकहरुलाई प्राथमिकतामा राखिने उनले बताए । ‘अहिले पालिका र सामाजिक सुरक्षा कोष बीच सम्झौता भयो’, उनले भने, ‘कार्यक्रम छिटैँ लागु गर्ने लक्ष्य पालिकाको छ ।’ कोषमा पालिकाभरका असंगठित क्षेत्रमा आबद्ध नगरिकहरुलाई समावेश गर्ने लक्ष पालिकाको छ । तर यसो गर्दा पालिकामाथि निकै आर्थिक भार पर्न जान्छ । त्यसैले संघ र प्रदेश सरकारसँग उक्त विषयमा छलफल भैरहेको पालिका अध्यक्ष चुमनले बताए ।

संघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा गण्डकी प्रदेशको पाँच वटा जिल्ला (कास्की, तनहुँ, स्याङजा, बाग्लुङ र पर्वत)का ४३ वटा पालिकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवहान् गरेको थियो । जसमा तनहुँको आँबुखैरेनी गाउँपालिका सहित ५ जिल्लाका ३५ पालिकाहरुले सामाजिक बिकास कोषमा आबद्धहुने भन्दै सम्झौता गरेका छन् ।

पोखरामा २ दिन चलेको कार्यक्रममाको अन्तिम दिन शनिबार आबुँखैरेनी गाउँपालिकाको प्रमुख प्रसासकीय अधिकुति विष्णुप्रसाद शर्माले कोषको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ‘सम्झौता भयो’, उनले भने, ‘आगामि आर्थिक वर्षबाट कार्यक्रम लागु गर्ने गरी तयारीमा लाग्ने सोच पालिकाको छ ।’ वैदेशिक रोजगारीलाई रोक्न र स्वदेशमै सुरक्षाको अनुभूति दिलाउनका लागि कार्यक्रम ल्याउन लागिएको शर्माले बताए । आबुखैरेनी गाउँपालिकाका करिब ५ हजार नागरिहरु असंगठित क्षेत्रमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्