| बुधबार, कार्तिक २५, २०८३

गोरखाको खोप्लाङमा काजी कालु पाँडेको दरबार बन्दै

गोरखाको खोप्लाङमा पृथ्वीनारायण शाहका प्रमुख सेनापति कालु पाँडेको दरबार निर्माण भइरहेको छ । ऐतिहासिक धरोहरको संरक्षण र जगर्ना गर्ने उद्देश्यले पुरातत्व विभागले पाँडेको जन्मस्थल पालुङटार नगरपालिका १ भुसुण्डीमा दरबार बनाएको हो ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सैनिक कमाण्डर पाँडेको जन्मस्थलमा निर्माण भइरहेको दरबार निर्माण सम्पन्न हुने चरणमा रहेको वडाअध्यक्ष कृष्णबहादुर परियारले जानकारी दिए । ‘निर्माण गर्न थालेकोचाहिँ तीन बर्ष भयो ।

पहिलो बर्ष जग तयार भयो, दोस्रो बर्ष पहिलो तल्ला, तेस्रो बर्ष दोस्रो तल्ला निर्माण भइसकेको छ । झ्याल, ढोका र काठका अरु संरचना पनि बनिसकेका छन्’, वडाअध्यक्ष परियाले भने, ‘काठका अरु संरचना पनि बनेका छन् । अब छाना छाउन मात्र बाँकी छ । त्यो काम पनि यो आर्थिक बर्षभित्र सकिनेछ ।’ गारोको र काठको काम गर्ने कामदारहरु सबै काम सकेर फर्किसकेका र अब छाउने कामदार आउन बाँकी रहेको उनले बताए ।

विभागले दुई करोड लागतमा कालु पाँडेको दरबार बनाउन लागेको वडाअध्यक्ष परियारले जानकारी दिए । दरबारभित्र उनी जन्मेको कोठा, बैठक कोठा लगायतका संरचना बनेका छन् भने आँगनमा पानीका धारा, र नजिकै उनको सालिक पनि निर्माण गरिएको छ । सो दरबारको मुलगेट र तारबार पनि गरिसकिएको छ ।

दरबारमा कलात्मक आँखीझ्याल, ढोका, टुँडालहरु बनेका छन् । त्यहाँ भिँगटीको छाना राखिनेछ । ‘२०७० सालमा उहाँका नयाँ पुस्ताले सालिक निर्माण गर्नु भएको थियो’, वडाअध्यक्ष परियार भन्छन्, ‘सालिक निर्माण भए लगत्तै उहाँको जन्मघर निर्माणका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पाँडेका अहिलेका पुस्ता र हामीहरु लागि परेका थियौँ । पुरातत्व विभागले दरबार त निर्माण ग¥यो, अब त्यसलाई संग्रहालय निर्माण गर्ने लक्ष्य छ ।’ यसअघि त्यहाँ पाँडेको जन्मघरको भग्नावशेष थियो ।

पाँच रोपनी जग्गा चर्चेर उनको जन्मघर निर्माण गरिएको उनका नयाँ पुस्ता पवन पाण्डेको भनाइ छ । ‘उहाँको जन्मघर निर्माण सम्पन्न हुने क्रममा छ । अब त्यहाँ संग्रहालय, फूलबारी निर्माण हुनेछ’, उनले भने, ‘काजी तुलाराम पाँडे, काजी कालु पाँडे स्मृति प्रतिष्ठानले यसको दीगो विकासका लागि काम गरिरहेको छ । अझै गरिरहनेछ ।’ संग्रहालयमा कालु पाँडेका पालाका हातहतियार लगायतका युद्ध सामग्रीहरु राखिने उनले बताए ।

राज्य एकीकरण अभियानमा पृथ्वी नारायण शाहको दाहिने हात हुन् । उनी द्रव्य शाहलाई गोरखाका राजा बनाउन भूमिका खेलेका गणेश पाँडेका सन्तति हुन् । तत्कालीन सेनापछि विराज थापा मगरले कीर्तिपुरमाथि हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्त सँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए । ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन् । उनले पृथ्वीनारायण शाह र लम्जुङका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए ।

प्रतिक्रिया दिनुहोस्