| बुधबार, कार्तिक २५, २०८३

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बारपाक सुलिकोट र सिरानचोक गाउँपालिका छनोट

गोरखाका दुई वटा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । बारपाक सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिका सो कार्यक्रमका लागि छनोट भएका हुन् । नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम चालू आर्थिक वर्षको कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहलाई छनोट गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

गण्डकी प्रदेशका ११ वटा स्थानीय तह छनौट भएकोमा गोरखाका दुई गाउँपालिका पर्न सफल भएका हुन् । २४२ वटा स्थानीय तहले निवेदन दिएकामा कार्यविधिमा समावेश गरेको मापदण्ड पूरा गरेका १०४ वटा स्थानीय तह छनौट भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै छनोट गरेका स्थानीय तहमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको जनाइएको छ ।

एउटा स्थानीय तहलाई यति बजेट भनेर नतोकिएको पालिकाहरुले जनाएका छन् । पूर्णरुपमा कार्यविधि बनेपछि मात्रै योजना अनुसार बजेट विनियोजन भएर पालिकामा आउने बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । ‘अहिले छनौट मात्रै भएको हो । बजेट यति नै हुन्छ भनेर छुट्याएर आएको छैन’, उनले भने, ‘पूर्णरुपमा कार्यविधि बनाए पठाएपछि मात्रै कति योजनालाई कति बजेट भनेर विशिष्टिकृत भएर आउँछ ।’

कार्यविधि अनुसार नवप्रवर्तन भन्नाले स्थानीय आर्थिक विकासको क्षेत्रमा नविनत्तम सोंच, नवीनत्तम अवधारण, नवीनत्तम लगानीको ढाँचा र नवीनत्तम प्रविधिको माध्यमबाट भिन्न तवरले गरिने उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरण सम्बन्धी कार्य भनिएको छ ।

यसले आर्थिक सशक्तीकरण, सीप विकास, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, आर्थिक विकास पूर्वाधार निर्माण, विशिष्टकृत वस्तुको उत्पादन लगायतका स्थानीय आर्थिक विकासमा योगदान दिने नयाँ प्रविधि, नयाँ ज्ञान, विधि, तौरतरिका, सीप, अवधारणा र सिर्जनशील आर्थिक क्रियाकलापलाईसमेत जनाइएको छ ।

स्थानीय क्षेत्रमा आर्थिक समृद्धि हाँसिल गर्न, स्थानीय क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी र आयु वृद्धि गर्न, नवप्रवर्तनलाई अवलम्बन गरी समावेशी, जलवायु अनुकूलन र दिगो आर्थिक विकास हाँसिल गर्न र उपलब्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानीय आर्थिक विकासमा परिचालन गर्न नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन गरिएको हो ।

नवप्रवर्तनमा आधारित स्थानीय उत्पादन, उद्यमशीलता विकास र रोजगारी वृद्धिको माध्यमबाट आर्थिक समृद्धि हाँसिल गर्न कार्यक्रमको कार्यक्षत्र तोकिएको छ । जसमा स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तिकरण तथा व्यवसाय विकास, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगित प्रवद्र्धन र विशिष्टिकृत वस्तु उत्पादन तथा बजारीकरण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्