
राष्ट्रिय सभा निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारद्धारा गोरखाका मतदाता भेटघाट
राष्ट्रिय सभा सदस्य निर्वाचनका गण्डकी प्रदेशका उम्मेदवारहरुले जिल्लाका मतदाताहरुसँग भेटघाट गरेका छन् । बुधबार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उनीहरुले भोटका लागी अपिल गरेका हुन् । गठबन्धनबाट गण्डकी प्रदेशतर्फ नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार रहेका छन् ।
मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले निर्वाचन जितेर गएपछि गठबन्धनको मर्म अनुसार अघि बढ्ने बताएका छन् । मतदाताहरुप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता समेत उनीहरुले जनाए । ‘हामी तपाईहरुले दिएको मतले नै विजयी भएर जाने हो’ उम्मेदवार श्रेष्ठले भने, ‘चुनाव जितेर गएपछि तपाईहरु प्रति नै उत्तरदायी भएर काम गर्नेछौं ।’
माओवादी केन्द्रकी उम्मेदवार शर्माले जनता र देशका लागी काम सधै अग्रसर रहेन बताइन् । काँग्रेसका उम्मेदवार बिकले राष्ट्रिय सभाबाट बन्ने ऐन, कानुन तथा नीति नियमलाई समावेशी बनाउन पहल गर्ने बताए । कांग्रेस गण्डकी प्रदेशका सचेतक एवं जिल्ला सभापति नन्दप्रसाद न्योपानेको अध्यक्षतामा भएको कार्यक्रमले चार सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । माओवादी केन्द्र गोरखाका अध्यक्ष दिपक तिमिल्सिनाको संयोजकत्वको उक्त समितिको सदस्यमा कांग्रेस जिल्ला उपसभापति धिरन थापा, एकिकृत समाजवादीका यादव बस्नेत र नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला पन्त, कांग्रेस गण्डकी प्रदेश महासचिव विष्णुप्रसाद लामिछाने, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदिय दलका नेता हरिबहादुर चुमान, एकिकृत समाजवादी पार्टी गोरखाकी सम्झना बस्नेत, जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख लगायतको सहभागिता रहेको थियो । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख, उप्रमुख र गण्डकी प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउनेछन् ।




