| बुधबार, कार्तिक २५, २०८३

निश्क्रिय मुद्दाहरु व्यूँताएर आफ्ना नेता कार्यकर्ता बिरुद्ध पक्राउ पुर्जी जारी गर्नु सरकारको गैरजिम्मेवारपन: नेकपा

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोरखाले आफूहरु शान्ति प्रक्रियामा जानका लागी सरकारसँग गरिएको तीन बुदेँ सहमति कार्यान्वयनमा आउनुपर्ने बताएको छ । वुधवार जिल्ला सदरमुकामका उक्त पार्टीद्धारा आयोजित राष्ट्रघात र राज्यको षड्यन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीका नेताहरुले निश्क्रिय भएका पुराना मद्दाहरु व्यूँताएर विप्लव लगायतका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नु सरकारको गैरजिम्मेवारपूर्ण काम भएको बताए ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै पार्टीका पुर्वी गण्डक व्यूरो इन्चार्ज आर्दशले प्रचण्ड, शेरबहादुर र बादल व्यक्ति नभई संस्था भएको जिकिर गरे । ‘उहाँहरुले जे बोल्यो त्यो नै नीति र शासन बन्छ, यसरी अराजकताले चलाएको देश चल्न सक्दैंन,’ उनले भने । अवधारणा पत्र मार्फत उनले एनसेल प्रकरण, एमसिसि परियोजना तथा नेपाल कम्युनिष्ट पार्टी र सरकार विच भएको ३ बुँदे सहमतिबारे औंल्याएको छ । नेपालका शासकहरुलाई विभिन्न प्रलोभनमा पारि साम्राज्यवादी शाक्ति राष्ट्रहरुले दलाल खडा गरी नेपाललाई आफ्नो पञ्जामा पार्न चाहेको उनको भनाइ छ ।

देशका शासकहरुले नेपालमा षड्यन्त्र गर्ने, जालझेल गर्ने र विश्वासघात गर्ने जस्ता अमानवीय काम गर्न पछि नपर्ने उनले आरोप लगाए । ‘विवादित हुँदै आएको एनसेल प्रकरण फेरी दोहोरिनु नेपाल सरकारलाई कर छलि बैमानि गर्नु भएको पार्टीको ठहर छ । अमेरिकाले ठूलो षड्यन्त्रका साथ एमसिसी लागु गर्न भित्रभित्रै गोप्य रुपमा दलाल सरकार संग मिलेर तयारी गरेको स्पष्ट छ,’ अवधारण पत्रमा भनिएको छ ।

पार्टीको दुई महिने अभियान सम्पन्न भएको जानकारी गराउँदै उनले नेपाल कम्युनिष्ट पार्टीसहित चार पार्टी मिलेर समाजवादी मोर्चा गठन गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिभिन्न राजनीतिक दलका जिल्ला प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्