
हेलिकप्टरमार्फत डोजर ढुवानी
उत्तरी गोरखाको चुमनुब्री गाउँ पालिका २ स्यालामा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको छ । गाउँसम्म सडकबाटो नपुगेकाले ल्हो माध्यमिक विद्यालयको मैदान निर्माणका लागि हेलिमार्फत डोजर लगिएको चुमनुब्री गाउँपालिका २ का वडा अध्यक्ष मिङ्ग्युर दोर्जे लामाले बताए । उनका अनुसार सल्यानटारबाट डोजर ढुवानी गरिएको हो ।
स्याला लैजानका लागि एक वर्षदेखि सल्यानटारमा राखिएको सो डोजर गत शुक्रबार स्याला पु¥याइएको उनले बताए । ‘विद्यालयको खेलमैदान निर्माणका लागि डोजर लैजान एकबर्षदेखि पहल गरियो, तर सकिएको थिएन । माननीय राजेन्द्र बजगाईँको पहलमा बल्लतल्ल गाउँमा पु¥याउन सफल भइयो’, उनले भने, ‘स्यालाको ल्हो मावि सञ्चालन गर्न सहयोग गर्ने लामा गुरु सोनाम दोर्जे रिम्पोछेले डोजरको व्यवस्था गर्नु भएको हो ।
डोजर लैजान बिगत तीन बर्षदेखि पहल गर्दा बल्लतल्ल यसपटक सफल भइएको छ ।’ सिंगै डोजर एकैपल्ट बोकेर लान नसकेपछि पार्टपुर्जा खोलेर पटक प टक गरी ढुवानी गरिएको उनले बताए । डोजर गाउँमा पुगेपछि अब विद्यालयको मैदान मात्र नभै अरु संरचना निर्माण गर्न पनि सहज हुने गाउँ पालिकाका अध्यक्ष निमा लामाको भनाइ छ । ‘गुरु रिम्पोछे सोनाम दोर्जेले गाउँमा धेरै ठूलो काम गरिरहनु भएको छ । अहिले डोजर लैजानु भयो । यसका लागि माननीय राजेन्द्र बजगाईको सहयोग पनि ठूलो छ’, अध्यक्ष लामाले भने, ‘डोजर गाउँमा पुगिसकेपछि त्यहाँको अरु भौतिक संरचना बनाउन पनि पक्कै सहज हुने विश्वास लिएका छौँ ।’
गाउँपालिका हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले बताए । डोजर गाउँमा पुगेपछि स्थानीय बासी धेरै खुशी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाको भनाइ छ । ‘गुरु रिम्पोछे व्यवस्था गर्नु भएको डोजर माननीय राजेन्द्र बजगाईको समन्वयमा गाउँसम्म पुगेकोमा स्थानीय धेरै खुसी छन,’ उनले भने, ‘अब डोजर आयो, गाउँमा बिकास निर्माणका कामहरु पनि सजिलै गर्न सकिन्छ ।’ डोजरका पार्टपूजा जडान गर्ने र चलाउन जान्ने जनशक्ति सहित डोजर ल्होमा पुगेको लामाले बताए । डोजर गत शुक्रबार नेपाली सेनाको हेली मार्फत ५६ लाख लागतमा ल्हो पु¥याईएको गाँउपालिकाले जनाएको छ ।




