
गोरखादेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ । आइतबार विहान गोरखाको गोरखनाथदेखि १३० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेका हुन् । शनिबार क्षमा पूजा गरी शुभसाईत गरेर आइतवार विहान ७ बजे गोरखबाट खिचडीसंगै बाजागाजा, मंगलधुन, स्वस्तीक वाचन सहित गोरखपुर सम्मको यात्रा सुरु गरिएको हो ।
पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरिसके पछि ‘खिचडी यात्रा’को थालनी गरिएको गौमाता सेवा महासंघ गोरखाका संयोजक होमसिंह बस्न्यातले जानकारी दिए । नेपालमा राजाको बहिरगमन भएपछि यो यात्रा पनि रोकिएको उनले जानकारी दिए । ‘राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि सक्नु भए पछि यो यात्राको सुरुवात गर्नु भएको थियो।’ उनले भने, ‘देशमा राजाको बहिरगमन पछि यात्रा पनि रोकियोे, त्यहाँ भन्दा अघि यात्रा जारी थियो ।’
२० वर्ष पछि यात्रा पुनः सुरु गरिएको संयोजक बस्नेयतले बताए । यो यात्रालाई ‘खिचडी गौँ’ यात्रा भनिएको छ।उनका अनुसार हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन यात्रा सुरु बताए । चामल, मासको दाल, ध्यू, नुन, बेसार लगायतका खाद्यबस्तु मिलाएर खिचडी बनाउने गरिन्छ ।
गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा खिचडी लिएर उत्तर प्रदेशमा रहेको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रहममूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उनको भनाई छ । यात्रामा रहेको टोली गोरखपुर पुगेर यहँबाट लगिएको उक्त प्रसाद ‘खिचडी’ चढाएर भोली नै गोरखा फर्किने उनले बताए ।




