
गोरखाको मुहार फेर्न ‘गोरखा फर्क अभियान’ सुरु
सुनसान बन्दै गएको गोरखाको व्यापारिक र सांस्कृतिक चहलपहललाई ब्यूँताउन ‘गोरखा फर्क अभियान’ सुरु गरिएको छ । गोरखा नगरपालिका वडा नम्वर ६ का डाक्टर राजुबाबु श्रेष्ठले सामाजिक सञ्जालमार्फत अभियान सुरु गरेका हुन् ।
अभियानमा विभिन्न कामले गोरखा बाहिर रहेका गोरखावासीले एक्यवद्धता जनाउन थालेका छन् । गोरखा जन्मथलो भई जिल्लाबाहिर स्वरोजगार, रोजगार तथा विभिन्न पेशा, व्यवसाय गर्ने र जन्मथलो बिरलै आउनेहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको श्रेष्ठले बताए । ‘हामी गोरखाबाट जति पनि बाहिर पेशा, व्यवसाय गरेर बस्यौँ र गोरखा फर्कने क्रम कम भयो,’ उनले भने, ‘व्यवहारिक कारणले गर्दा सँधै गोरखामा बस्न नमिल्ला तर बर्षको कम्तिमा दुईदिन गोरखामा बास बस्ने र यहाँको चाडवाड र जात्रामा अनिवार्य उपस्थित हुन त सकिन्छ नि भनेर अभियान चलाएका हौँ ।’
त्यस्तै जिल्ला बाहिर रहेकाहरुलाई जन्मथलो गोरखामा बसोबासको व्यवस्था गर्न पनि आग्रह गरिएको उनले जानकारी दिए । ‘उहाँहरुको गोरखामा रहेका पुराना घरहरु यतिकै अलपत्र छन्, गोरखा आउँदा बस्न मिल्ने गरी त्यो घरलाई मर्मत गर्न अभियान मार्फत हामीले आग्रह पनि गरेका छौ,’ श्रेष्ठले भने । व्यवसायको केही प्रतिशत लगानी आफ्नो जन्मथलोमा गोरखामा गराउन उत्प्रेरित गराउने समेत अभियानको अभिप्राय रहेको उनको भनाइ छ । उनका अनुसार यो अभियानमा हालसम्म ५३ जनाले एक्यवद्धता जनाइसकेका छन् ।
यो अभियान गोरखा बजारमा मात्र सीमित नभइ गाउँ तहसम्म पुग्ने बताइएको छ । सुरुवात गोरखा बजारबाट भएपनि गाउँसम्म यो अभियानलाई जोड्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । ‘गाउँका मान्छेहरुले पनि मलाई फोन गरेर अभियानमा चासो राखिरहनुभएको छ । मैले आवश्यक समन्वय गरिरहेको छु,’ उनले भने ।
यस अभियानले संस्कृतिको जर्गेनासँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । आफ्नो जन्मथलोलाई गोरखाबासीले भुल्दै गएकाले पनि यो अभियान सुरु गरिएको श्रेष्ठले बताए । ‘आजभन्दा केही बर्षअघि गोरखामा जुन किसिमको चहलपहल थियो अहिले छैन, यो अभियानले हराउँदै गएको त्यो चहलपलहलाई फर्काउछ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ।
फोनबाटै कुराकानी गरेर अभियानको सुरुवात गरेको जानकारी गराउँदै उनले भने, ‘मैले केही मान्छेहरुलाई फोन गरेर यस्तो अभियान चलाउनुप¥यो भनेर कुरा गरेँ, उहाँहरुले साथ दिन्छु भन्नुभयो अनि अघि बढेका हौँ । अहिले साथ दिनेहरु बढ्दै जानुभएको छ ।’
गोरखा आउने र जमघट हुने क्रम बढेपछि गोरखाको विकासबारे आवश्यक छलफल गर्दै रणनीतिक योजना बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । आफ्नो भ्रमण क्यालेण्डरमा गोरखा जिल्लाका गाउँगाउँलाई समावेश गर्न पनि उनले आग्रह गरेका छन् । बन्दीपुरको उदाहरण दिदैँ उनले भने, ‘स्थानीयहरु एकीकृत भएर बन्दीपुरलाई चलायमान बनाए, हामीसँग सम्भावना छ मात्र एकताको कमि भएको हो । यो अभियानले सबैलाई एकीकृत गराएर गोरखालाई चलायमान बनाउन सहयोग पु¥याउछ भन्ने छ ।’
यता पर्यटन प्रवद्र्धनका लागि ठुलोआँगन, तिनधारे, पाटेचौर, छिपिटोल लगायतका जिल्ला सदरमुकामको पुरानो बजारलाई सम्पदाबस्तीको रुपमा बिकास गर्न लागिएको उनले जानकारी दिए । सम्पदाबस्ती बनाउनका लागि रविन्द्रपुरी फाउण्डेशन भक्तपुर र गोरखा नगरपालिका बीच सम्झौता पनि भइसकेको छ । सो क्षेत्रका सबै घर नापेर बस्तीको थ्री डी नक्शासमेत तयार भइसकेको श्रेष्ठले बताए ।
सम्पदाबस्ती निर्माणका लागि त्यहाँ भएका घरहरुसँग छलफल गर्छाैँ, नगरपालिकाले मापदण्ड तयार पार्छ । छलफलबाट सहमति जुटेपछि काम अघि बढ्छ’, उनले भने । ठुलोआगँनको बस्तीबाट काम सुरु गरिने र बजेट विनियोजनको आधारमा बिस्तार गर्दै लैजाने उनले जानकारी दिए ।




