
गोरखा दरबारमा पृथ्वीनारायण शाहको राजसिँहासन पुनस्थापना
पृथ्वीजयन्तीको अवसर पारेर गोरखा दरबारको गर्भगृहमा राजसिँहसन पुनस्थापन गरिएको छ । दरबारको पुनर्निर्माणको क्रममा विस्थापन गरिएको राजसिँहसन गत शुक्रबार ३०२ औँ पृथ्वीजयन्तीको अवसर पारेर गर्भगृहमा पुनस्र्थापना गरिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
प्राचीन राजगद्दी २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । पुरातत्व विभागले दरबार पुनर्निर्माणका क्रममा सो गद्दीको पनि प्राचीन स्वरुप र संरचना नमेटिने गरी मर्मतसम्भार गरी पुनर्निर्माण गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिए ।
‘भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि क्षति भएको थियो’, अड्डाका प्रमुख पाठकले भने, ‘पुरातत्व विभागले त्यस गद्दीलाई पनि पुरातात्विक तथा ऐतिहासिक स्वरुप नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।’
पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अब गोरखा दरबारको अवलोकन गर्न जानेहरु मूलदरबारको गभृगृहमा पुनस्थापना गरिएको ऐतिहासिक राजसिँहासन अवलोकन गर्न पाउने भएकाछन् ।
भूकम्पले क्षतिग्रस्त भएपछि गोरखा दरबारमा पृथ्वीनारायण शाहलाई बाल्यकालमा सेकताप गरेको अँगेनुँ पनि क्षतिग्रस्त भएको थियो । भूकम्पअघिसम्म अखण्ड रुपमा रहेको सो अखण्डधुनीलाई पनि निरन्तरता दिने गरी कामको थालनी गरिएको दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।
भूकम्पले क्षतिग्रस्त मूलदरबार, गोरखकाली मन्दिर, रङ्गमहल, गोरखानाथ गुफालगायतका अधिकांश संरचना पुनर्निर्माण र जीणोद्धार गर्ने कार्य सकिएकाले राजसिँहासन र अखण्डधुनी पुनस्थापनको प्रक्रिया अघि बढाएको दरबार हेरचाह अड्डाले जनाएको छ ।




