| बुधबार, कार्तिक २५, २०८३

बिभिन्न बिधेयक र ऐन पारित गर्दै भीमसेन थापाको गाउँ सभा सकियो

बिभिन्न विधेयक र ऐन पारित गर्दै भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी बिधेयक, आर्थिक ऐन तथा विनियोजन ऐन २०८० को संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी बिधेयकमा समग्र गाउँपालिकाको खानेपानीलाई व्यवस्थित गर्ने उल्लेख भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘प्रदेशको एक घर एक धारा अभियानलाई पूरा गर्ने र स्वच्छ खानेपानी सहज रुपमा उपलब्ध गराउन पालिका स्तरीय कमिटि गठन गर्ने र त्यो कमिटिले समग्र खानेपानी सम्बन्धी नीति तयार गर्ने भन्ने बिधेयकमा उल्लेख छ,’ उनले भने ।

आर्थिक ऐन तथा विनियोजन ऐन २०८० संशोधन गर्दै केही योजनाका रकमहरु रकमान्तर एवं शीर्षकान्तर गरिएको उनले जानकारी दिए । ‘पूर्वाधार बिकास अन्तरगत हामीले ठेक्का लगाएको योजनाहरुबाट बचेको रकमहरु पूर्वाधार तथा आर्थिक र सामाजिक क्षेत्रमा खर्च गर्ने गरी रकमान्तर गरेका छौ,’ उनले भने । करिव ५० लाख रकम रकमान्तर गरिएको उनले बताए । प्रचलित कानूनको परिधिभित्र रहेर रकमान्तर गरिएको उनले बताए ।

त्यस्तै कुनै एक शीर्षकमा विनियोजित रकम अर्काे शीर्षकमा रकमान्तर गरिएको उनले जानकारी दिए । पालिकाको कुल बजेटमध्ये हालसम्म २५ प्रतिशत खर्च भएको उनको भनाइ छ । उनका अनुसार चालु तर्फ २९ र पुजिँगत तर्फ २० प्रतिशत रकम खर्च भएको हो । गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्