| बुधबार, कार्तिक २५, २०८३

तीन पालिकाको हिउँदे अधिवेशन सम्पन्न, दुई पालिकाको आज हुदैँ, अन्य पालिकाको अन्योल

जिल्लाका एघार स्थानीय तहमध्ये तीन वटा पालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । वुधवारसम्म पालुङटार नगरपालिका, धार्चे र चुमनुव्री गाउँपालिकाको अधिवेशन सम्पन्न भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । शहिदलखन र भीमसेन थापा गाउँपालिकामा भने आज अधिवेशन (गाउँसभा) हुने बताइएको छ । यता सिरानचोक गाउँपालिकाको अधिवेशन पुस २९ गतेलाई तोकिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।

अन्य पालिकाको भने अधिवेशन कहिले हुने भन्नेमा अन्योल छ ।अजिरकोट गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज अवस्थीका अनुसार आज गाउँसभाको मिति तोकिने छ । ‘आज कार्यपालिका बैठक छ, त्यही बैठकले गाउँसभाको मिति तोक्छ,’ उनले भने । गण्डकी गाउँपालिकाको अहिलेसम्म एकीन नभएको उपाध्यक्ष ललिता अधिकारीले बताइन् ।

गोरखा नगरपालिकाको पुस महिनामा सम्भव नभएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले बताए । ‘अव पुस महिनामा सम्भव भएन, माघमै हुन्छ होला,’ उनले भने । आरुघाट गाउँपालिकाको माघ १५ भित्र हुन सक्ने पालिका उपाध्यक्ष कल्पना नेपालीले बताइन् । बारपाक सुलिकोटको माघ महिनामा हुने कार्यालयका सूचना अधिकारी इश्वरी प्रसाद पनेरुले बताए ।

प्रतिक्रिया दिनुहोस्