| बुधबार, कार्तिक २५, २०८३

बगुवामा आयोजित स्वास्थ्य शिविरमा अकुपञ्चरको आकर्षण

गोरखाको भिमसेनथापा गाउँपालिका ५ बगुवा स्वास्थ्यचौकीमा सोमबारदेखि निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन सोमबार १८० जना बिरामीले स्वास्थ्य लाभ लिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा आयोजित उद्घाटन समारोहको प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य राजेन्द्र बजगाईँले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद बजगाईले सिँगापुरदेखि गोरखाको गाउँठाउँमा आएर निशुल्क स्वास्थ्य सेवा दिएकामा कृतज्ञता व्यक्त गरेका थिए । साथै आउँदा दिनमा पनि यस्ता परोपकारी कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

गाउँपालिकाका प्रमुख बञ्जराले गाउँबस्तीमा विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य सेवा दिनु धेरै उल्लेखनीय कार्य भन्दै आयोजक संस्था किमोलुङ फाउण्डेशन र करुणा मेडिकल इन्टरनेशनलप्रति कृतज्ञता प्रकट गरे । आगामि दिनमा पनि यस्ता परोपकारी कामलाई निरन्तरता दिन उनले आव्हान गरे । त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्तीले गाउँबस्तीका सेवाग्राहीलाई गाउँघरमै पुगेर स्वास्थय सेवा दिएकामा आयोजक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

शिविरमा सेवा लिन आएका बिरामीहरु अकुपञ्चर प्रविधिबाट गरिएको उपचार पद्धतिप्रति आकर्षित भएका थिए । गाउँका लागि नयाँ र प्राकृतिक पद्धति भएकाले बिरामीहरु यस पद्धतिप्रति आकर्षित भएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए । उनका अनुसार अकुपञ्चार प्रविधिबाट हाडजोर्नीका बिरामी, ज्यान दुख्ने, खुट्टा झमझम गर्ने तथा दुख्ने, टाउको दुख्ने, माइग्रेन लगायतका समस्याको उपचार गरिएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा अन्य गरी २५ जना विदेशी र चिकित्सक र अन्य गरी २० जना नेपाली स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिइरहेका छन् । पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले पनि शिविरमा सेवा दिइरहेका छन् । शिविरमा छाला सम्बन्धी समस्या, नसा तथा हाडजोर्नी सम्बन्धी समस्या, हात खट्टामा खिल पल्टेको, कोठी पलाएको, मुसा पलाएको, टाउको दुख्ने, माइग्रेन लगायतका स्वास्थ्य समस्याको उपचार भइरहेको छ । गाउँपालिका कार्यालयको सहकार्यमा किमोलुङ फाउन्डेसन नेपाल र करुणा मेडिकल ईन्टरनेशनलले शिविर आयोजना गरेका हुन् । शिविर सोमबारदेखि बुधबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्